धम्क्याएर ५० लाख माग्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

८ फाल्गुन २०८०, मंगलवार १८:०९

काठमाडौं । धम्क्याएर ५० लाख रुपैयाँ मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विप्लव नेकपाका २ कार्यकर्तालाई पक्राउ गरेको हो ।

कैलालीको टीकापुर नगरपालिका-१ का ३६ वर्षीय विश्वजित बटाला भनिने ह्दयराज बोगटी र नुवाकोटको ककनी नगरपालिका-३ का ३६ वर्षीय रमेश भनिने नरहरि ढुंगाना पक्राउ परेका हुन् ।

उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक-पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

उनीहरुलाई चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उनीहरुविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुबाट मोटरसाइकल १ थान, ४ थान मोबाइल र नेपाल कम्युनिष्ट पार्टी माओवादीको सहयोग रसिद १ ठगी बरामद भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*