ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटारस्थित ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न महानगरले निर्देशन दिएको छ । काठमाडौं महानगरले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जना प्रतिवादी भएको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको मुद्दामा फागुन ३ गते फैसला सुनाउदै ललिता निवास क्षेत्रको हिनामिना भएको सरकारी जग्गा जफत गर्ने आदेश दिएको थियो ।
‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घ संस्थाहरू सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ ।’ सूचनामा भनिएको छ ।
तोकिएको समयभित्र ललिता निवास क्षेत्र खाली नगरेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गाको उचित रेखदेख र प्रबन्ध गरिने महानगरले जनाएको छ ।