वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सम्झौता

१४ फाल्गुन २०८०, सोमबार ०६:२७

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका सिईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस ‘कार्यान्वयन साझेदार’ हुनेछ ।

यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई) को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस–भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ । यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।

भारतसँगको कर्स बोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक वित्तीय संस्थाको स्विचको रूपमा काम गर्छ ।

बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।

हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*