माओवादी नेता धर्मेन्द्र बास्तोलालाई एक वर्ष कैद गर्ने फैसला

१४ फाल्गुन २०८०, सोमबार १७:५९

काठमाडौँ । सवारीले हानेर वसन्तराम चौधरीको ज्यान लिएको मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको बताइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

उक्त मुद्दामा प्रहरीले बास्तोलाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कैद र जरिवानाको मागदावी लिई मुद्दा दायर गरेको थियो । जस दफामा कसैको ज्यान जानसक्छ भन्ने देखिँदा देखिँदै अपनाउनुपर्ने सावधानी नअपनाई सवारी ज्यान मरेमा त्यसलाई लापरबाही मानिने र त्यसरी सवारी चलाउनेलाई ३ देखि १० वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

तर, जिल्ला अदालत दाङले ऐनको दफा १६१ को उपदफा ३ बमोजिमको कसुर ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो । जुन व्यवस्थामा कसैको ज्यान जानसक्छ भन्ने नदेखिएको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई ज्यान मरेमा १ वर्षसम्म कैद र २ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*