अख्तियार प्रमुख राईले भने-प्रमाण भेटिए प्रधानमन्त्री समेतलाई छोडिन्न

१५ फाल्गुन २०८०, मंगलवार १६:३९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उपयुक्त तथ्य प्रमाण भए भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने बताएका छन् ।
संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अख्तियार प्रमुख राईले आफुहरुले पर्याप्त प्रमाण भेटेका कसैलाई पनि नउम्काएको बताएका हुुन् ।

कर्मचारीलाई मात्रै लखटेर उपल्लो तहका मन्त्री तथा प्रधानमन्त्रीहरुलाई उम्काउने गरिएको सांसदहरुको जिज्ञासामा उनले प्रमाण भेटे उपल्लो ओहोदामा बसेकाहरुलाई पनि नछोड्ने जवाफ दिए ।

उनले एकातिर कर्मचारी बढी जिम्मेवार हुने भएका कारण पनि उनीहरुविरुद्ध आरोपपत्र दायर गर्ने आधारहरु फेला पर्ने गरेको र अर्कोतिर ऐन कानून नै सार्वजनिक पद धारण गरेका व्यक्तिहरु लक्षित भएका कारण पनि यसो भएको हुनसक्ने बताए ।

नीतिगत भ्रष्टाचारबारे भने छुट्टै कानून बन्नुपर्ने उनको तर्क छ । उनले भने, ‘पहिलो कुरा त नीतिगत भ्रष्टाचार केलाई भन्ने भनेर यकिन गरी छुट्टै कानून निर्माण हुन जरुरी छ । त्यसपछि मात्रै नीतिगत भ्रष्टाचार नियन्त्रणमा आउछ । नभए अख्तियारलाई मात्रै तताएर हुँदैन ।’

उनले लेखा समितिले यसअघि दिएका निर्देशनमा ढिलाई हुनुको कारण लिखित रुपमै पेश गरेको बताउँदै आगामी दिनमा निर्देशन पालनामा ध्यान दिने प्रतिवद्धता जनाए । यस्तै, अख्तियारमा आउने उजुरी समेतलाई व्यवस्थित गरिनुपर्ने र उजुरी दिने सन्दर्भमा समेत जानकारी लिने दिने गरिनुपर्ने बताए ।

उनका अनुसार अधिकांश उजुरी अर्कालाई दुःख दिने नियतप्रेरित बढी देखिएका छन् । एउटै प्रकृतिका उजुरी विभिन्न निकायमा परेको समेत आफुहरुले भेट्टाएको उनले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*