‘कोरोना’मा ३ अर्बको अवैध वस्तु भित्र्याउने गिरोहको खोजी सुरु, तत्कालीन अर्थमन्त्री डा. खतिवडा पनि तानिनसक्ने

१६ फाल्गुन २०८०, बुधबार १६:३४

काठमाडौं । वीरगन्ज सुख्खा बन्दरगाहमा ५ वर्षदेखि थन्किएको ३ अर्ब मूल्य बराबरको अवैध मालसामान ल्याउने गिरोहको खोजी सुरु भएको छ ।

भन्सार विभागले आइतबार ३ अर्ब बढीको मालवस्तु लिलामीको प्रक्रिया अगाडी बढाएपछि मात्रै भित्र्याउने गिरोह तथा व्यक्तिबारे अनुसन्धान सुरु गरेको हो । यसअघि सुक्खा बन्दरगाह भन्सार सिर्सियाले उक्त मालवस्तुको हकदावी गर्न आउनका लागि एक हप्ते सूचना निकालेको थियो । सूचना जारी गर्दा पनि कोही सम्पर्कमा नआएको सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा. राम प्रसाद मैनालीले बताए ।

उनका अनुसार अहिले राजस्व अनुसन्धान विभागसँग समन्वय गरी ती बस्तुहरु ल्याउने गिरोहको खोजतलास थालिएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले उपल्लो तहमा पहुँच भएको मुख्य गिरोहले अर्कैको नाममा फर्म खोलेर कागजात बनाएकाले मूल नाइके खोज्न अफ्ठेरो भएको बताएका छन् ।

महानिर्देशक पौडेलका अनुसार मालवस्तु ल्याउनेहरुको सबै कागजात मागेर अध्ययन भइरहेको छ । उनले भने, ‘अनुसन्धान जारी छ । सामान लिलामीको प्रक्रिया सुरु भएको छ ।’

लिलाम विक्री थालिएकामा सुपारी ३ सय ५० मेट्रिक टन, पेस्तादाना १ सय ५० मेट्रिक टन, छोकडा ५ सय मेट्रिक टन रहेको छ भने ती सामानको मूल्य करोडौँ भनिएको छ । यस्तै, ५ करोड ५५ लाख मूल्य बराबरको १३ हजार ९ सय ५ लिटर रसियन डायमन्ड रक्सी, ४ करोड २७ लाख मूल्य बराबरको १० हजार ७ सय ५ लिटर रोयल मक्सा तथा १२ करोड मूल्य बराबरको ४५ हजार लिटर वाइन बरामद गरी लिलाम विक्री थालिएको छ ।

यस्तै ठूलो परिमाणमा बरामद भएका कालो दाल, मसुरो, कार्पेट, फेब्रिक, मास्कको समेत लिलाम विक्री अघि बढाइएको छ । यो सामान कोरोना काल र त्यसबीचमा वीरगन्ज सुक्खा बन्दरगाह आइपुगेको हो । जतिबेला अर्थमन्त्री डा. युवराज खतिवडा थिए भने भन्सार विभागको महानिर्देशक सुमन दाहाल थिए ।

अवैध सामान ल्याउने गिरोह कै कुरा सुनेर तत्कालीन अर्थमन्त्री डा. खतिवडाले २०७६ चैत १६ गतेदेखि विदेशबाट आयात हुने मदिरा रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयको अत्यधिक गुणगान गाउने मुख्य पात्र थिए, भन्सार विभागका महानिर्देशक दाहाल ।

त्यो बेला सरकारले तीन महिना विदेशी मदिरा आयात रोक्दा असार मसान्तसम्म झण्डै ५० करोड रुपैंया विदेशिनबाट रोकिएको भनी तत्कालीन महानिर्देशक दाहालले प्रगति सुनाएका थिए ।

त्यसरी संगठित रुपमा विदेशी रक्सी तथा सामान ल्याउने गिरोहको प्रभावमा परेर कोरोनाको बहाना पारी सरकारले विदेशी रक्सी तथा सालसामान आयातमा प्रतिबन्ध लगाएको थियो ।

भदौ महिनामा तत्कालीन अर्थमन्त्री डा. खतिवडा कै पदावधि सकिएपछि उक्त सामान बन्दरगाह मै अलपत्र छोडेर गिरोह फरार भएको बताइएको छ । र, यो गिरोहलाई तत्कालीन अर्थमन्त्री डा. खतिवडाले नै संरक्षण दिएको हुनसक्ने आशंका गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*