प्रधानमन्त्री प्रचण्डलाई आफ्नै खुट्टामा बन्चरो हान्न कसले उचाल्दैछ ? भ्रष्टाचारी ठीक पार्ने र अर्थतन्त्र सुधार्ने मन्त्रीमा तारो किन ?

२० फाल्गुन २०८०, आईतवार ११:२१

समाचार टिप्पणी

काठमाडौं । भन्नेहरुले अनेकन कोणबाट भन्लान तर नेपालको इतिहासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम सधैं सम्झिरहनेछ । राजपरिवारको सम्पत्ति हडपेर धनी बनेको चौधरी ग्रुपका अरुण चौधरी हुन् वा पूर्व प्रधानमन्त्रीदेखि मन्त्री र बहालवाला सचिवहरुलाई हत्कडी लगाएर जेलमा कोच्न जुन हिम्मत, साहस नारायणकाजी श्रेष्ठले गरे, त्यो नेपालको राजनीतिक इतिहासमा बिरलै देख्न पाइनेछ । जनताको मुक्ति र परिवर्तनको लागि १० वर्षे जनयुद्ध गरेर राजनीतिमा उदाएको माओवादीको चार पटकको सत्ता यात्राको क्रममा बाबुराम भट्टराईले गरेको काठमाडौंको सडक विस्तार र नारायणकाजी श्रेष्ठले गरेको भ्रष्टाचारी र तस्करीहरुमाथिको निर्मम कारवाही इतिहासको पानामा अंकित भइरहनेछ ।

यतिबेला प्रधानमन्त्री प्रचण्ड माओवादीले सम्हाल्दै आएको गृहमन्त्रालय र कांग्रेसले सम्हाल्दै आएको अर्थमन्त्रालय साटफेर गर्ने र अर्थमन्त्री हटाउन भन्दै मरिमेटेर लागेका छन् । प्रधानमन्त्री प्रचण्डको सरकारमा रहेर कमाउ धन्दामा लागेका पर्यटन मन्त्री सुदन किराँती प्रचण्डका प्रिय बनेका छन् । एनसेलको सेटिङ गर्ने, भारतीय डिजाइनमा साना मिडिया बन्द गराउन विवादित विधेयक तयार पार्ने रेखा शर्मा प्रिय पात्र बनेका छन् । जनताको आशा मर्न नदिने गरी काम गरेका दुई मन्त्री गृह र अर्थमन्त्रीमाथि प्रधानमन्त्री प्रचण्डको बक्रदृष्टि परिरहेको छ । यसबाट प्रश्न उठेको छ, प्रधानमन्त्री प्रचण्डलाई कसले उचाल्दैछ ?

पराम्परागत दलहरुलाई नयाँ आएको घण्टीले कडा चुनौति मात्रै दिएको छैन । २०८४ सालको निर्वाचनमा क्लीन स्वीप पार्छु भनिरहेको छ । यही बेला जनताको आशा मर्न नदिने र माओवादीले पनि केही गर्छ है भन्ने आशा जगाउने काम गरेर प्रचण्डकै नाक जोगाई दिने दुई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन सिंगो गठबन्धन दाउमा लगाइरहेका छन् ? आज प्रश्न उठेको छ । रवि लामिछानेको घण्टीलाई समेत चुनौति दिने गरी काम गरिरहेको गृहमन्त्रालय माओवादी आफैले कांग्रेसलाई किन दिन चाहिरहेको छ ? अनि यो संकटपूर्ण अवस्थामा देशको आर्थिक अवस्थामा सुधार ल्याएर (तथ्याङ्कमा सुधार आइसकेको छ अब जनताको मनोविज्ञानमा मात्रै सुधार आउन बाँकी छ) देशलाई भड्खालोमा जानबाट जोगाउने अर्थमन्त्रालयबाट अर्थतन्त्रको ज्ञाता डा. महतलाई हटाएर गैर अर्थशास्त्रीलाई मन्त्री बनाउन किन चाहिरहेका छन् ?

अर्थमन्त्रालय र गृहमन्त्रालय साटफेर प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई कसले उचालिरहेको छैन ? आशंकाहरु उब्जिएका छन् । प्रधानमन्त्री प्रचण्डको नाक जोगाउने गृहमन्त्री नारायणकाजी श्रेष्ठ हटाएर रमेश लेखकलाई गृहमन्त्री बनाउने चर्चा बजारमा व्याप्त छ । नारायणकाजीको जस्तो वेट र काम रमेश लेखकबाट सम्भव छ ? रमेश लेखक भारतसँग निकट सम्बन्ध भएका व्यक्ति पनि हुन भन्ने कुरा प्रधानमन्त्री प्रचण्डलाई थाहा हुँदा हुँदै किन यसो गर्न खोजिरहेका छन् ? चीनको राम्रो विश्वास जित्न पनि नारायणकाजीको उपस्थिति सरकारमा बनाइरहनेतर्फ पनि प्रधानमन्त्री प्रचण्डको ध्यान जानु पर्छ कि पर्दैन ?

पछिल्ला पटकका घट्नाक्रमहरुले प्रधानमन्त्री प्रचण्ड कसैले उचालेकैभरमा आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम गरिरहेका छन् । सरकार सञ्चालन गरेको वर्षदिनमा धेरै राम्रो काम गर्न नसके पनि नराम्रो काम पनि ठूलो हुन नपाएको तर स्टक एक्चसेन्जको नयाँ लाइसेन्स र विमानस्थल भारतलाई ठेक्का दिने काम जसरी पनि सम्पन्न गराएर प्रधानमन्त्री प्रचण्डलाई बद्नाम गराउने तत्वहरुबाटै त यो काम भइरहेको छैन ? प्रश्न उठेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*