२४ सै जना मन्त्री फेर्ने प्रस्तावमाथि छलफल, वर्षमान पुन अर्थमन्त्री बन्दै !

२० फाल्गुन २०८०, आईतवार ११:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनको तयारी सुरु गर्दै गठबन्धन दल नेपाली कांग्रेससँग छलफल सुरु गरेका छन् । जसमा गृह मन्त्रालय र अर्थ मन्त्रालय साटिने बाहेक गठबन्धनले पुरानै मन्त्रालयहरु पाउनेछन् । तर, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड बाहेक २४ सै जना मन्त्री फेर्नुपर्ने अर्को प्रस्ताव राखेपछि प्रधानमन्त्री प्रचण्ड अप्ठेरोमा परेका छन् ।

प्रधानमन्त्री प्रचण्ड निकट स्रोतका अनुसार मन्त्रिपरिषद पुनर्गठन हुने भएमा छिट्टै हुनेछ । राष्ट्रिय सभा अध्यक्ष पदमा भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा टुंगो लागेसँगै सरकारका मन्त्रीहरुको भविष्य निर्धारण हुनेछ । राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले धोका दिएकोले माओवादीका उम्मेदरवार पराजित भएको भन्दै अब अध्यक्ष माओवादीले पाउनुपर्ने माग छ । त्यस्तै, सरकारमा रहेका मन्त्रीहरु फेरबदल गर्नुपर्ने प्रस्ताव माओवादीले अघि सारेको छ । तर, कांग्रेसले भने गठबन्धन अघि बढाउन प्रधामन्त्री प्रचण्डले या त २४ वटै मन्त्री फेर्ने या त अहिलेकै मन्त्रिपरिषदलाई अघि बढाउनुपर्ने शर्त अघि सारेको छ ।

यदि नयाँ मन्त्रिपरिषदमा अर्थमन्त्रीका रुपमा वर्षमान पुन (अनन्त) आउने छन् । पुन अर्थमन्त्री हुन जोडबलले लागि परेका छन् । पुनलाई जनार्दन शर्माको समेत साथ रहेकोले प्रचण्डले सरकार पुनर्गठन गरेमा यस पटक पुन अर्थमन्त्री बन्ने पक्का जस्तै छ । जनयुद्धकालका डेपुटी सैन्य कमाण्डर समेत रहेका वर्षमान पुनले अर्थ मन्त्रालय सम्हाल्ने तयारी सुरु गरिसकेको विश्वस्त स्रोतले जनाएको छ । तर, मुलुकको राजनीतिक अवस्था तरल रहेको, राष्ट्रिय सभाको अध्यक्ष पदका लागि माओवादीले थप सम्झौता गर्न सक्ने भएकोले अहिले नै यसै भन्न सक्ने अवस्था भने छैन ।

त्यस्तै, हाल माओवादीले सम्हाल्दै आएको गृहमन्त्रालय नेपाली कांग्रेसले पाउनेछ । हाल नारायणकाजी श्रेष्ठले चलाएको भ्रष्टाचारी र तस्कर विरोधी अभियान शिथिल हुनेछ भने पक्राउ गर्न तयार पारिएका कैंयौं व्यक्तिहरुले राहत पाउनेछन् । यस पटक गृहमन्त्रालयमा रमेश लेखक जाने सम्भवना बलियो रहेको छ ।

उता, नेपाल दुरसञ्चार प्राधिकरण र एनसेलमा भ्रष्टाचार आरोपी सञ्चार मन्त्री रेखा शर्मा पनि हट्नेछिन । उनको ठाउँमा सिन्धुलीका सांसद लेखनाथ दाहाल सञ्चार मन्त्री बन्ने लाइनमा रहेका छन् । त्यस्तै, भ्रष्टाचारका आरोप पर्यटन मन्त्री सुदन किराँती पनि हट्ने पक्का पक्की जस्तै छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*