अन्ततः रवि लामिछाने गृहमन्त्री बन्दै, नयाँ गठबन्धन बनाउने अन्तिम तयारीमा प्रधानमन्त्री प्रचण्ड

२१ फाल्गुन २०८०, सोमबार ०६:२९

काठमाडौं । सत्ता सञ्चालनमा चर्को असहयोग गरेको महसुस गरेका प्रधानमन्त्री प्रचण्डले अन्ततः सत्ता गठबन्धन नै फेरबदल गरिदिने अन्तिम तयारीमा पुगेका छन् । जस अनुसार कांग्रेस र समाजवादीलाई सत्ता बाहिर छोडेर एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र महतो र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकार्य गर्ने भएका छन् ।

आज हुने राष्ट्रिय सभाको अध्यक्ष पदका लागि माओवादीले सत्ता गठबन्धनमा उथलपुथल ल्याउने गरी काम अघि बढाएका हुन् । गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वर्षमान पुनसहितको टोलीले हिजो अपरान्ह जसपा नेता उपेन्द्र यादवको निवासमा करिब चार घण्टा लामो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी थिए । सो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, शंकर पोखरेल लगायतका नेताहरु पनि सहभागी थिए । सो छलफलले निष्कर्ष निकाले लगत्तै साँझ एमाले अध्यक्ष केपीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेर अन्तिम सहमतिको खाका पेश गरेका थिए ।

बीमापोष्टलाई उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पद सुरक्षित गर्दै नयाँ गठबन्धन तयार पारी मन्त्रालयको बाँडफाँडमाथि समेत सहमति भएको छ । जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्नेछन् । रविलाई गृहमन्त्री प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली सहमत भएको बताइएको छ ।

माओवादीभित्रका प्रभावशाली नेता वर्षमान पुन र नारायणकाजी श्रेष्ठले गरेको सो डिल आज निष्कर्षमा पुग्ने बताइएको छ । उता, आजै विहान प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक डाकेका छन् । आज विहान ८ बजे बस्ने सत्ता गठबन्धनको बैठकबाट टिआरसी बिधेयक, सत्ता गठबन्धनको भविष्यबारे छलफल हुनेछ ।

 

सत्ता गठबन्धनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष नभई नहुने भन्दै अडान लिएपछि माओवादी रुष्ट बनेको छ । माघमा सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा माओवादीका उम्मेदवारलाई गठबन्धनको कांग्रेसबाटै धोका पाएर हराइएकोमा बेखुस माओवादीले राष्ट्रियसभाको अध्यक्ष नपाए गठबन्धनमा असर पर्न सक्ने चेतावनी दिँदै आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*