एमालेसँग सफल वार्ता गरेका कारण वर्षमान ‘अर्थमन्त्री’, शपथ नखाँदै बजेट बनाउन प्रचण्डको निर्देशन

२२ फाल्गुन २०८०, मंगलवार १६:१६

काठमाडौं । यसअघि अर्थमन्त्री भएर पनि बजेट बनाउन नपाएका वर्षमान पुनले मन्त्रीको शपथ खानु पहिल्यै बजेटको तयारी थाल्ने निर्देशन पाइसकेका छन् । जसरी अहिले प्रधानमन्त्री प्रचण्डले मन्त्रीको शपथ खानुअघि बजेटको तयारी थाल्न निर्देशन दिए त्यसरी पुनलाई केही दिन अघि नै अग्रिम बधाइ आएको थियो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सार्वजनिक गर्नुपर्ने बजेट निर्माणका लागि प्रधानमन्त्री प्रचण्डले पुनलाई निर्देशन दिइसकेको बताइएको छ । तर, उनी मन्त्री नियुक्त हुन भने बाँकी नै छ ।

प्रधानमन्त्री र अर्थमन्त्री फरक-फरक दलको हुँदा सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा नतिजा नदेखिने अनुभवका आधारमा पनि आफ्नै दलबाट अर्थमन्त्री बनाउन लागेको प्रधानमन्त्रीको सचिवालयको तर्क छ ।

यो बीचमा नयाँ सत्ता गठबन्धनमा आएको एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने हल्ला समेत चलेको थियो भने गठबन्धनको अको घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अर्थविज्ञ रहेका डा. स्वर्णिम वाग्लेको नाममा पनि चर्चा भएको छ । तर, प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै दलबाट राख्ने पक्का पक्की गरेर छिमेकी भारत समेतसँग चुनौति मोल्दै नयाँ गठबन्धन सरकार निर्माण गरेका बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशन पछि पुनले बजेट निर्माणबारे परामर्श समेत थालिसकेको बताइएको छ । यसअघि एमालेसँग सहमति गर्ने जिम्मा पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई दिइएकामा उनी फेल भएका थिए भने अहिले कांग्रेसलाई अलग्याएर एमालेसँग सत्ता समीकरण गर्ने मुख्य शुत्रधारको रुपमा पुन सफल भएका कारण पनि प्रचण्डको रोजाइमा उनी नै परेका हुन् ।

पुनलाई बजेट अघि बढाउन सहज छ । यसअघि निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन् । त्यसबारे सोमबारदेखि संसदमा छलफल हुने कार्यसूची थियो । तर, गठबन्धन नै फेरवदल भएपछि त्यो स्थिगित भएको छ । अब पुनले अर्थमन्त्रीको शपथ लिएपछि संसदमा छलफल प्रारम्भ हुनेछ ।

बजेटका सिद्धान्त र प्राथमिकता पारित भएपछि सरकारका तर्फबाट राष्ट्रपतिले आगमी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छन् भने त्यसपछि आगामी जेठ १५ गते नयाँ बजेट आउनेछ । पुन अर्थमन्त्री हुने देखिएपछि भने शेयर बजारका लगानीकर्ता निराश भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*