काठमाडौंको २ रोपनी सरकारी जमिन हडपेका ल्यारक्यालले पठाए ३ पन्ने जवाफ, कब्जामा रहेको जग्गा छोड्ने

२२ फाल्गुन २०८०, मंगलवार १७:०९

काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले ८ आना किनेर २ रोपनी १ आना सरकारी जग्गा हडपेको विषयमा ३ पन्ने जवाफ पठाएका छन् ।

हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिकाले लामालाई फागुन ९ गते अन्तिम ताकेता गर्दै पठाएको पत्रको जवाफमा लामाले मेयरलाई नै सम्बोधन गरेर ३ पन्ने जवाफ पठाएका हुन् ।

लामाले बुढानीलकण्ठ नगरपालिका-२ गणेशचोकमा लामाले ८ आना जग्गा किनेर २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएका छन् । नगरपालिकाले सार्वजनिक जग्गा हडपेकोबारे यथार्थ विवरणसहित उपस्थित हुन लामालाई पटक-पटक पत्राचार गरेपनि उनले कुनै वास्ता गरेका थिएनन् ।

पछिल्लो पत्राचारमा यो अन्तिम भएको र त्यसपछि कानूनी प्रक्रिया अनुसार डोजर नै लगाउने चेतावनी दिइएपछि उनले लिखित जवाफ पठाएको बुढानीलकण्ठ नगरपालिकाका नगरपप्रमुख मीठाराम अधिकारीले बीमापोष्टलाई बताए ।

उनले भने, ‘तीन पन्ने लिखित जवाफ आएको छ । त्यसमा आफुले नगरपालिकाले चाहेका बखत सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । उहाँले आफ्नो पूर्जा तथा नक्सामा रहेको भन्दा बढी रहेको जग्गा आफु नगरपालिकाले लैजाँदाका बखत छोड्न तयार रहेको लेखिपठाउनु भएको छ ।’ नगरप्रमुख अधिकारीले अब नगरपालिकाले सार्वजनिक जग्गाजति व्यक्तिको कब्जामुक्त गर्ने प्रक्रिया अघि बढाउने बताएका छन् ।

सरकारी कार्यालयबाट प्राप्त कागजात अनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका-२ गणेशचोकको मन्दिर आडैमा रहेको ८ आना जग्गा किनेका थिए । उनले भुवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातले देखाउँछ । जतिबेला उनले जग्गा खरिद गरे, त्यसबेला उक्त ठाउँ साविकको चपली गाविस वडा नम्बर ८ मा पर्ने बताइन्छ ।

लामाले निवास बनाउदा सँगै रहेको सार्वजनिक जग्गा समेत ओगटे । बर्खामा हिलो बग्ने र आफ्नो निवासलाई सुरक्षित पार्न लामाले करोड बढी खर्चिएर अग्लो पर्खाल लगाए । जुन पर्खालसहित उनले गाडी राख्न बनाएको छानो समेत सरकारी जग्गामा पर्छ । उनले सँगै रहेको सुकुम्बासी बस्तिको जग्गा समेत काँडेतारले घेरेर आफ्नो घरसँगै ओगटेर राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*