‘जागिर खाएकै दिन’ मृत भेटिएका डीएसपीको ‘सुसाइड नोट’मा के छ ?

२३ फाल्गुन २०८०, बुधबार १७:३१

काठमाडौं । कोठामा मृत भेटिएका सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्यालले लेखेको ‘सुसाइड नोट’ प्रहरीले फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा मृत अवस्थामा भेटिएका थिए ।

अनुसन्धानका क्रममा बस्यालको शव भेटिएको कोठामा एक पृष्ठ लामो नोट फेला परेको मोरङले प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनास्थलबाट भेटिएको सुसाइट नोटका बारेमा थप जाँचबुझ भइरहेको बताए । उनले भने, ‘शव भेटिए कै कोठामा भेटिएको नोट परीक्षणको क्रममा छ । उक्त लिखत र घटनाक्रम मिलेको देखिएकाले बस्याल कै हो भन्ने देखिन्छ ।’

नोटमा बस्यालले आफ्नो मृत्युको छानविनका नाममा कसैलाई दुःख नदिन भनेका छन् । उनले आफ्ना परिवारका सदस्य तथा सशस्त्र प्रहरी बल संगठनसँग माफी मागेका छन् । सुसाइड नोटमा बस्यालले सशस्त्र प्रहरी बलका महानिरीक्षक र साथीहरुसँग समेत माफी मागेका छन् । ‘संगठनलाई आँच आउने कुरा भयो भने त बाँच्नुको अर्थ छैन । सरी चिफसाप, सरी फ्रेन्ड्स’ उनले नोटमा भनेका छन् ।

बस्यालले काम गरेर देखाउने चक्करमा अप्ठ्यारोमा परेको उल्लेख गर्दै नोटमा एक जना व्यक्तिबारे लेखेका छन् जसको पहिचान खुलेको छैन । ‘ऊ स्वयं अपराधी रहेछ, पहिले म त्यसलाई सम्बन्धित स्थानमा लगेर काम गर्छु भनेको त्यसले उल्टै मलाई कानूनी अफ्ठयारो पार्न सक्ने खतरा पो भयो’ नोटमा लेखिएको छ ।

नोटमा उल्लेख यो विषयलाई लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस्यालले पत्नीसँग पनि क्षमा माग्दै बच्चाको राम्रोसँग हेचाह गर्न आग्रह गरेका छन् । आफ्नो मृत्युको छानबिन गर्ने नाममा अनावश्यक दबाब नदिन पनि उनले नोटमार्फत परिवारका सदस्यहरुलाई आग्रह गरेका छन् । उनले अन्तिममा भनेका छन्, ‘सरी, ब्याचमेट मलाई झल्लु नठानेर सम्झिरहनु, गुडबाई ।’

२१ फागुन डीएसपी बस्याल सशस्त्र प्रहरी बलको सेवा प्रवेश गरेको दिन हो । ४२ वर्षीय बस्यालले मृत्युअघि आफ्ना सहकर्मी र साथीलाई फोन गरेको र निराशा व्यक्त गरेको समेत प्रहरीको अनुसन्धानका क्रममा खुल्न आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*