रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २६ औं वार्षिकोत्सव मनाएको छ । क्लबले काठमाडौंको होटल एभरेष्टमा चैत्र १७ गते शनिवार एक समारोहको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
उक्त समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला लगायत विभिन्न दलका नेता, सांसदहरु, कुटनीतिज्ञहरु र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
उक्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइने बताए । उनले आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको समेत धारणा राखेका थिए ।
त्यसैगरी समारोहमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी द्धन्द्धका बेला, द्धन्द्धकारी र राज्य, सहमत र असहमतका पक्षलाई एउटा फोरम उपलब्ध गराउने आँट गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको मुक्तकण्ठले प्रशंसा गरे । त्यस्तै, पूर्व प्रधानन्यायाधीश कार्कीले क्लबले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैलाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।
समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डद्वारा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणिप्रसाद कलवार, समाजसेवी भवानी राई गुरुङ, नेपाल मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक डा. उमा केयाल, वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित लगायत विभिन्न सञ्चारकर्मीहरु सम्मानित भएका थिए ।