ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी

२० चैत्र २०८०, मंगलवार १६:२८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।

मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरु व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे । त्यसअवसरमा व्यवसायीहरुले आर्थिक वर्ष २०७६र७७ मा आफूहरुले मूल्य अभिवृद्धि कर नलिए पनि सरकारले तिर्नुपर्ने देखाएको भन्दै मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष माधव नेपालले बताए ।

चालु आवमा सरकारले सो १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरुले सो अनुसारले कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले बताए ।

ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासंघले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महँगी सिर्जना गरेको महासंघको भनाइ छ ।

महासंघले देशका ठूला सहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ । नमूनाका रुपमा बुटबलमा सरकार र ढुवानी व्यवसायीको लगानीमा रु ३० करोड लागतमा ढुवानी ग्राम निर्माणधीन रहेको अध्यक्ष नेपालले बताए । यस्तै उनले मन्त्री भण्डारी समक्ष सबै ढुवानी व्यवसायीलाई एकै बनाइएकामा यसले साना व्यवसायीलाई मर्का परेको भन्दै महासंघले ढुवानी व्यवसायीको वर्गीकरणको माग गरे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*