स्वार्थको द्वन्द्व र सुशासनमा असर पर्ने भन्दै टीआईले महालेखापरीक्षक तोयम राया सिफारिसमा जनायो असन्तुष्टि

२२ चैत्र २०८०, बिहीबार १३:०५

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महालेखापरीक्षकमा तोयम राया सिफारिस गरेकामा असन्तुष्टि जनाएको छ ।

एक विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले रायाले अर्थ सचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांक अधिकारीका रुपमा काम गरिसकेकाले आफूले गरेको कामको लेखा परीक्षण आफैंले गर्न नमिल्ने बताएको हो ।

संवैधानिक परिषदको १८ चैतमा बसेको बैठकले पूर्वअर्थसचिव रायालाई महालेखा परीक्षकमा नियुक्ति सिफारिस गरेको थियो । टीआईकी अध्यक्ष पद्मिनी प्रधानांगले विश्वका विभिन्न मुलुकका सर्वोच्च लेखापरीक्षण निकायको अन्तर्राष्ट्रिय संगठन (ईण्टोसाई) बाट जारी आचारसंहितामा लेखापरीक्षकको नियुक्ति गर्दा यसको स्वतन्त्रता र वस्तुनिष्ठता कायम हुन्छ वा हुँदैन भन्ने पक्षलाई ध्यान दिने गरिएको बताएकी छन् ।

‘लेखापरीक्षकको रुपमा तोक्दा र लेखापरीक्षकले जिम्मेवारी स्वीकार गर्दा लेखापरीक्षण गराउने निकाय र कार्यसंग लेखापरीक्षकको नैतिक आचरणमा आँच आउन सक्ने अवस्थाहरु, जस्तै आफूले गरेको काम आफैंले परीक्षण गर्ने (क्भाि–चभखष्भध) जोखिमहरु रहे नरहेको विचार गर्नुपर्ने मान्यता र अभ्यास रहेको छ’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘यस्तो जोखिम कायम रहेको अवस्थामा लेखापरीक्षणको नतिजा विश्वसनीय नहुने सम्भावना हुन्छ ।’

रायाको हकमा आफ्नै काम कारवाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षण सम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने टीआईले बताएको छ ।
‘‘सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ संसदीय सुनुवाइ समितिले स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गरोस् भनी टीआई–नेपाल गम्भीर ध्यानाकर्षण गराउँदछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*