स्वास्थ्य बीमा कार्ड नागरिक एपमा लिङ्क गर्न मिल्ने, डिजिटल फोटोलाई अस्पतालले मान्यता नदिए कारबाही हुने

राजन कठायत
४ बैशाख २०८१, मंगलवार ११:५६

काठमाडौं । आमनागरिकलाई डिजिटल माध्यमबाट सेवा प्रवाह गर्नको लागि ‘नागरिक एप’ सञ्चालनमा ल्याएको सरकारले स्वास्थ्य बीमा बोर्डलाई समेत डिजिटल सेवामा जोडेको छ । नागरिक एपले स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरेसँगै आम नागरिकलाई सेवा लिन सहज भएको छ ।

नागरिक एपमा सरकारले नेपाली नागरिता, पासपोर्ट, शैक्षिक योग्यताका प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र लगायतका सरकारी कागजातहरु समावेश गरेको छ ।

सरकारले नागरिकलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘स्वास्थ्य बीमा’लाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लगेको हो । नागरिकलाई थप सहज रुपमा बीमा सम्बन्धी सेवा प्रदान गर्नका लागि स्वास्थ्य बीमा कार्डलाई नागरिक एपमा समावेश गरिएको बताइएको छ ।

स्वास्थ्य बीमा गराएका बीमितले नागरिक एपमा आफ्नो बीमा कार्ड लिङ्क हुन नसकेको गुनासो गर्दै आएका छन् । जसलाई लिएर उनीहरु खिन्न भएका छन् भने अस्पतालले स्वास्थ्य बीमा कार्ड देखाएपछि मात्र स्वास्थ्य बीमा सेवा उपलब्ध गराउने गरेको गुनासो गरिरहेका छन् । अधिकांश बीमितले नागरिक एप र बीमा बोर्डको निर्णयको स्वागत गरेका छन् ।

देशका अधिकांश अस्पतालमा स्वास्थ्य बीमामा उल्लेख भएका औषधिको समेत अभाव रहेको बीमितहरुको गुनासो छ । विभिन्न ठाउँमा अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका औषधि छैन भन्दै सेवाग्राहीलाई खाली हात पठाउने गरेका छन् । उनीहरुले बीमा गरेको भएपनि महङ्गो शुल्क तिरेर प्राइभेट अस्पताल धाउनु पर्ने बाध्यता बनेको गुनासो समेत गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आम नागरिकलाई स्वास्थ्य बीमा अन्तर्गतका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले नागरिक एपमा समावेश गराइएको बताए ।

‘स्वास्थ्य सेवालाई सस्तो र भरपर्दो बनाउने सबैभन्दा महत्वपूर्ण आधार भनेको स्वास्थ्य बीमा हो’ उनले भने, ‘हामीहरुले नागरिक एपमा आफ्नो बीमा नम्बर डायल गर्दै आवश्यक प्रक्रिया पूरा गरेर स्वास्थ्य बीमा कार्ड लिङ्क गर्न सक्छौँ ।’

कार्यकारी निर्देशक डा. बसौलाले देशका सम्बन्धित अस्पतालमा सेवा लिंदा नागरिक एपले कार्ड लिङ्क नगरेको भए पनि मोबाइलमा भएको फोटो देखाएर स्वास्थ्य बीमा सेवा लिन कुनै व्यवधान नरहने बताएका छन् । कुनै अस्पतालले डिजिटल रुपमा देखाइएको बीमा कार्डलाई मान्यता नदिएको खण्डमा आवश्यक कारबाही समेत हुने उनले जानकारी दिएका छन् ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ नामक नारासहित एको वर्ष चैत २५ गते आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रम मनाइएको थियो । जुन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आम नागरिकको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता जनाएका थिए ।

नागरिक एपमा स्वास्थ्य बीमा कार्ड लिङ्क गर्ने तरिकाः

–नागरिक एपमा उल्लेख भएको ‘स्वास्थ्य बीमा कार्ड’ मा क्लि गर्नुहोस् ।

–स्वास्थ्य बीमा बोर्डको बीमा नम्बर डायल गनुहोस् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*