पुँजी बजारमा हरियालीः ७ अर्ब पुग्यो कारोबार, यी कारण आउन सक्छ रौनक !

६ आश्विन २०८३, मंगलवार १५:०५

काठमाडौँ । नेप्सेमा कारोबार गर्ने ७२ वटा स्टक ब्रोकर कम्पनीको सर्भर रहेको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि हिजो शेयर कारोबार प्रभावित भए पनि आज बजारमा सामान्य सुधार देखिएको छ । केही समयदेखि दबाबमा रहेको शेयर बजारमा पछिल्लो सुधारले लगानीकर्ताको मनोबलमा क्रमशः सकारात्मक प्रभाव पारेको देखिन्छ । बजारमा प्राविधिक समस्या आउनु अल्पकालीन चुनौती भए पनि यसले समग्र बजारको दीर्घकालीन दिशालाई भने निर्धारण गर्दैन ।

नयाँ सरकार गठनपछि निरन्तर दबाबमा रहेको बजारलाई चलायमान बनाउन सरकारले विभिन्न सुधारात्मक कदम अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे राहत तथा सुधार प्याकेज, कारोबार समय बढाउने पहल, सम्पत्ति शुद्धीकरणसम्बन्धी त्रास कम गर्ने प्रयास तथा पुँजीगत लाभकर घटाउने विषयमा भएको नीतिगत निर्णयले लगानीकर्तामा केही हदसम्म विश्वास बढाएको देखिन्छ । यी कदम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बजारमा देखिएको सकारात्मक मनोविज्ञान थप बलियो बन्न सक्छ ।

अर्कोतर्फ, लामो समयदेखि मूल्यमा दबाब परेका कारण कतिपय कम्पनीका शेयर मूल्य आकर्षक देखिन थालेका छन् । यस्तो अवस्थामा लगानीकर्ताले केवल बजार बढ्ने अपेक्षामा लगानी गर्नुको सट्टा कम्पनीको वित्तीय अवस्था, आम्दानी, व्यवस्थापन, व्यवसायको सम्भावना र मूल्यांकनलाई आधार बनाएर कम्पनी छनोट गर्नुपर्ने देखिन्छ । साथै, लाभांश सिजन सुरु भएसँगै सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश घोषणा गर्न थालेका छन्। यद्यपि, केही कम्पनीको प्रस्तावित लाभांश अपेक्षाभन्दा कम हुँदा बजारमा त्यसअनुसारको उत्साह भने देखिएको छैन।

पछिल्लो समय सरकार र नियामक निकायबाट बजार सुधारका लागि भएका पहल तथा लगानीकर्ताको मनोबलमा देखिएको सुधारले नेप्सेमा सकारात्मक वातावरण बन्ने आधार तयार गरेको देखिन्छ । तर नीतिगत घोषणा मात्र पर्याप्त नभई त्यसको प्रभावकारी र स्थिर कार्यान्वयन पनि महत्वपूर्ण हुन्छ । बजारमा दीर्घकालीन विश्वास कायम गर्न पारदर्शिता, स्थिर नीति, प्रविधिगत विश्वसनीयता र लगानीकर्तामैत्री वातावरण आवश्यक हुन्छ । यी पक्षमा सुधार हुँदै गएमा शेयर बजार क्रमशः स्थिर र सकारात्मक दिशातर्फ अघि बढ्ने आधार बलियो बन्न सक्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०६ अकंले बढेर २६५४.२८ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको छ । आज सर्वाधिक व्यापार समूहको शेयर मूल्य घटेको हो ।

मंगलबार १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*