निर्जीवन बीमाको दायरा खुम्चिँदै, मोटर, कृषि बीमा घट्यो, सम्पत्ति र हवाई बीमा बढ्यो

१७ बैशाख २०८१, सोमबार १९:०७

काठमाडौं । चालु आवको नौ महिनामा नेपालको निर्जीवन बीमाको व्यवसाय औषत देखिएको छ । यद्यपि सामान्य बृद्धि भएपनि मुख्य चलायमान क्षेत्र मोटरबीमा, कृषि बीमासहितका क्षेत्रमा घट्न पुगेको छ भने सम्पत्ति बीमा र हवाई बीमा बढेको बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको लघुबीमा शुल्क आर्जन सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुको लघुबीमा शुल्क पाँच करोड ६७ लाखबाट १९९ प्रतिशतले बृद्धि भएर १७ करोड दुई लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, हवाई बीमालेख मार्फत निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ३१ दशमलव ३२ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँबाट १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । नेपालमा सञ्चालन रहेका वायु सेवाहरुले पछिल्लो समय जहाज तथा हेलिकप्टरहरुको बीमा अनिवार्य गर्दा हवाई व्यवसाय बृद्धि भएको हो ।

सम्पत्ति बीमा व्यवसाय पनि ११ दशमलव १६ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको चैत महिनामा ६ अर्ब ६८ करोड रुपैयाँबाट बृद्धि भई ७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । जुन राम्रो पक्ष हो । नागरिकहरुले आफ्नो सम्पत्तिप्रति जिम्मेवार बनि बीमा गर्नाले सम्पत्तिमा क्षति पुग्दा पनि बीमा दावीको भुक्तानी पाउन सकिन्छ ।

चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले सामुन्द्रिक बीमालेखबाट १ अर्ब ४७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आवको नौ महिनाको तुलनामा ४ दशमलव ५४ प्रतिशतले कम हो ।

निर्जीवन बीमा कम्पनीहरुको लागि मेरुदण्डका रुपमा उभिएको मोटर बीमाको व्यवसाय घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा मोटर बीमाबाट नौ अर्ब २८ करोड ९२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ०५ प्रतिशतले कम हो ।

त्यस्तै, कृषि तथा बाली बीमा व्यवसाय पनि ७ दशमलव ६५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीले यसबाट १ अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*