वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

२७ बैशाख २०८१, बिहीबार ०९:४९

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएका छन् । आज आयोजित प्रि बजेटरी छलफलमा सरकारले यस वर्ष नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा एकरुपता कायम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘विगतमा देखियो, नीति तथा कार्यक्रम एकातिर, वित्तीय नीति र मौद्रिक नीतिका बिषयहरु फरक फरक जस्तो देखियो, आपसमा बाझिएको पनि देखियो तर यस पटक एकदमै समन्वय गरेर एकरुपता कायम गर्नेछौं ।’

अर्थमन्त्री पुनले भने, हामीले राष्ट्र बैंकसँग पनि कुराकानी गरिहेका छौं । स्वायत्तता भनेर निजि क्षेत्रको मनोबल गिराउने कार्यलाई सरकारले स्वीकार गर्दैन । हामीले मिलाएर अघि बढाउँदैछौं ।

बजेटमा धेरैथरी सुझावहरु आइरहेको बताउँदै अर्थमन्त्री पुनले एकाथरीले तुरुन्त कर बढाउनु पर्दछ भनेर बहस गरिरहेको र एकाथरीले बजेटमा करको दर घटाउनुपर्दछ भनेर लविङ गर्ने गरेको बताउँदै आफूले बडी ल्याङ्ग्वेजबाट समेत कुनै प्रतिक्रिया नदिएको बताएका छन् । सरकारले आफ्नै रिसर्चबाट काम गरिरहेको बताउँदै बजेट कुनै प्रभावमा परेर गर्दैनौं । हरेक निर्णयमा कारणसहित सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।

अर्थमन्त्री पुनले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत हाराहारीमा आर्थिक बृद्धि गर्ने लक्ष्य लिनुपर्ने बताएका छन् । भुकम्पपछि पुर्वाधार निर्माणको क्षेत्रमा भएको लगानीका कारण आर्थिक बृद्धि बढि देखिएको र अहिले उक्त केही घटेको बताउँदै आगामी वर्ष सरकारले आर्थिक बृद्धि ७ प्रतिशत पुर्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

अर्थमन्त्री पुनले बजेट निर्माणको लागि धेरै क्षेत्रसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको र अधिकांश क्षेत्रको कुरा सुनिएको बताउँदै अब धेरै क्षेत्रको कुरा सुन्न बाँकी नभएको बताए । अर्थमन्त्री पुनले निजि क्षेत्रकै सुुझाव र सल्लाह लिएर अघि बढ्ने नीति भएकोले कुनै क्षेत्रका व्यवसायीहरुले निर्धक्क भएर उद्योग व्यवसाय अघि बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*