आभूषण संघका अध्यक्ष ताम्राकारको मनपरी, अदालतको आवेदन कार्यान्वयन गर्दा अवहेलना मुद्दा दायर

२७ बैशाख २०८१, बिहीबार १४:१५

काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनमान ताम्राकारविरूद्ध अदालतको अपहेलनामा मुद्दा दायर भएको छ । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै उनी विरुद्ध पाटन उच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेको हो ।

काठमाडौँको न्युरोडमा रहेको रिद्धिसिद्धि ज्वेलर्सले अदालतले यसअघि दिएको आदेश कार्यान्वयन नगरेको भन्दै नेपाल रत्न तथा आभूषण संघ र अध्यक्ष ताम्राकारविरूद्ध अवहेलनाको मुद्दा दायर भएको हो ।

अध्यक्ष ताम्राकार र उनका सहयोगीहरु निर्मलज्योति तुलाधर, ज्योत्सना श्रेष्ठ, सुरेशमान श्रेष्ठ तथा जेजे ज्वेलर्सका सञ्चालक पवन सुमानी लगायत उनको टिमले नेपालमा सुन बिक्री नभएको भन्दै भारत तस्कर गर्ने गरेको आरोप लगाएका संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ता र रिद्धिसिद्धि ज्वेलर्स प्रालि, रिद्धिसिद्धि ज्वेलरी हाउस र ब्लु हर्सन ज्वेलर्स प्रालिलाई संघको साधारण सदस्य समेत नरहने गरी निष्काशन र काँचो सुन खरिदको सिफारिस लिन नपाउने गरी व्यापार व्यवसाय सञ्चालनमा वञ्चित गरेको थियो।

यस्तो कारबाहीपछि रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक केदारनाथ गुप्ताले वैशाख ३ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख १३ गते उच्च अदालत पाटनले रिद्धिसिद्धिलाई कारबाही नगर्नू भनी संघको नाउँमा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि पनि संघले रिद्धिसिद्धि ज्वेलर्सलाई कारबाही फुकुवा नगरेको र काँचो सुन खरिदको लागि सिफारिस समेत नदिएपछि गुप्ता पुन अदालत गएका थिए । गुप्ताले अपहेलना मुद्दा दायर गरेपछि उच्च अदालत पाटनले ७ दिनभित्र अदालतमा उपस्थित भएर अपहेलनामा कारबाही गर्न नपर्ने भए त्यसको प्रमाणसहित उपस्थित हुन आदेश गरेको छ ।

न्यायाधीश अन्जु उप्रेती र हेमन्त रावलको संयुक्त इजलासले आभूषण संघ र अध्यक्ष ताम्राकारलाई सात दिनभित्र आफू स्वयम् वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

उच्च अदालतको आदेशलाई कार्यान्वयन नगरेको भन्दै रिद्धिसिद्धि ज्वेलर्सले नेपाल रत्न तथा आभूषण संघ र त्यसका अध्यक्ष सुमनमान ताम्राकारविरूद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम कारबाहीको मागदाबीसहित अदालतको अपहेलनामा रिट दायर गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*