हुन्डाईको एसेम्ब्लिङ प्लान्ट नवलपरासीमा, प्रधानमन्त्रीले गरे उद्घाटन

२८ बैशाख २०८१, शुक्रबार १२:१३

काठमाडौं । हुन्डाईको गाडी अब नेपालमै एसेम्बल हुने भएको छ । नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक विक्रेतासमेत रहेको लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच उक्त प्लान्टको उद्घाटन गरेका हुन् । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसर पारेर उक्त कारखाना उद्घाटन गर्न लागिएको छ । नेपालमा अन्तरराष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना बनेको छ ।

कर्पोरेशनले ६ महीनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन हुने छ । नेपालमै एसेम्बल हुने हुँदा मूल्य केही सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।

लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुआत गरेको बताए । शुरूमा भेन्यूको व्यावसायिक उत्पादन गर्ने, त्यसपछि आई १०, क्रेटा र आई २० मोडलका चारपांग्रे गाडी उत्पादन गर्दै जाने योजना रहेको उनले बताए ।

श्रेष्ठका अनुसार उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी उक्त प्लान्टमा नरहेको श्रेष्ठले स्पष्ट पारे । नेपालले चारपांग्रे र दुईपांग्रे सवारीसाधन आयातमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । हुन्डाईको प्लान्ट सञ्चालनमा आएसगै तत्कालका लागि यो एउटा मात्र चारपांग्रे एसेम्बल प्लान्ट हुनेछ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेइङले हुन्डाई जस्तो बहुराष्ट्रिय कम्पनीले नेपालमै एसेम्बल प्लान्ट शुरू गर्दा कोरियाका अन्य कम्पनीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन मिल्ने बताए ।

यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*