यस वर्षको लागि पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको लागि आवश्यक पर्ने रासायनिक मल र उन्नत बीउ समयमै उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको ब्रिफिङपछि सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले खेतीको समयमा मलखादको अभाव हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरेका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार वार्षिक रूपमा नेपाललाई ५ लाख ५० हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्नेमा त्यसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस वर्षका लागि २ लाख ४० हजार मेट्रिकटन मल आयात भइसकेको र गत वर्षको मौज्दात समेत गरी २ लाख ६२ हजार मेट्रिकटन मल बिक्री भइसकेको जानकारी उनले दिएका छन्।
प्रधानमन्त्री ओलीले ३० हजार मेट्रिकटन युरिया मल आयातको प्रक्रियामा रहेको उल्लेख गरेका छन्। उनले मल आपूर्तिको अवस्था सन्तोषजनक रहेको र खेतीपातीको समयमा किसानलाई मलखादको अभाव हुन नदिन सरकारले पूर्ण रूपमा तयारी गरेको बताए।