७ महिनामा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब थपियो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारको सार्वजनिक ऋणमा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँको वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्ममा देशको कुल सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । गत साउन १ गतेसम्म तिर्न बाँकी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
ऋणमा यो वृद्धिसँगै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा सार्वजनिक ऋण ४५।७७ प्रतिशत पुगेको छ । जसमा आन्तरिक ऋण जीडीपीको २२।४९ प्रतिशत र बाह्य ऋण २३।२८ प्रतिशत रहेको छ ।
माघ मसान्तसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने बाह्य ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । गत साउन १ गतेसम्म आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा २ खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ मात्र ऋण लिइएको छ । यो वार्षिक लक्ष्यको ५३।१२ प्रतिशत हो ।
यस अवधिमा सरकारले आन्तरिक स्रोतबाट २ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ (लक्ष्यको ६९।४४ प्रतिशत) तथा बाह्य स्रोतबाट ६१ अर्ब ४२ करोड रुपैयाँ (लक्ष्यको २८।३१ प्रतिशत) ऋण लिएको छ ।