डेढ लाख घुसमा जग्गा किर्ते गरी क्षेत्रफल बढाइदिने तत्कालीन नापी अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

९ फाल्गुन २०८१, शुक्रबार १२:५२

काठमाडौं । डेढ लाख रुपैयाँ घुस खाएर जग्गा किर्ते गरी क्षेत्रफल बढाइदिएको आरोपमा नापी कार्यालय, बाराका तत्कालीन अधिकृत दीनानाथ शर्मासहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

बाराका जग्गाधनी सुदामा प्रसाद चौधरीले आफ्नो पत्नी रामपति देवी थरुनीको नाममा रहेको जग्गाको क्षेत्रफल बढाइदिन भन्दै लेखापढी व्यवसायी जयलाल सहनीलाई डेढ लाख रुपैयाँ घुस दिएका थिए।

सहनीले उक्त डेढ लाख घुस तत्कालीन नापी कार्यालय बाराका सर्वेक्षक सुनिल कुमार झामार्फत् नापी अधिकृतसम्मलाई भागबण्डा गरी खुवाएका थिए। त्यसपछि सबैको मिलेमतोमा जग्गाको श्रेस्ता किर्ते गरेर कागजी रूपमा क्षेत्रफल बढाइदिन नापी कार्यालयको नक्सा समेत हेरफेर गरेको पाइएको छ।

अख्तियारको अनुसन्धानमा बाराको डुमरवाना गाविस वडा नम्बर ६ स्थित रामपति देवीको नाममा रहेको साविक कित्ता नम्बर २२१ को क्षेत्रफल ज.वि. ०–१–१० बाट आफ्नो पति सुदामा चौधरीलाई ०–०–१० जग्गा पास गरेर बाँकी ०–१–० हुनुपर्नेमा ०–३–१० राखिदिएको र अर्काे कित्ता नम्बर २८३ को ०–३–१० जग्गाबाट पतिको नाममा ०–१–० पास गरेपछि बाँकी ०–२–१० हुनुपर्नेमा ०–६–० बाँकी रहेको देखाएर सोही अनुसार जग्गाको क्षेत्रफल बढाउन नक्सा सहित प्लट रजिष्ट्रर सच्याएको पाइएको छ।

कृत्रिम रूपमा क्षेत्रफल बढाइएको जग्गा धनीले बिक्री गरेपछि प्रकरण बाहिर आएर अख्तियारसम्मै उजुरी परेपछि अख्तियारले छानबीन थालेको थियो।

अख्तियारले तत्कालीन नापी अधिकृत दीनानाथ शर्मा, तत्कालीन सर्भेक्षक र हाल पर्सामा नापी अधिकृतको रूपमा कार्यरत शिव बालक साह, मालपोत अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नासु बुधनप्रसाद यादव, लेखापढी जयलाल सहनी, तत्कालीन सर्भेक्षक सुनिल कुमार झा र जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र उनकी पत्नी रामपति देवी थरुनीलाई समेत प्रतिवादी बनाएर डेढ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*