फुङलिङमा नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा २३ जना घाइते

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिबार साँझ ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडपमा २३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घाइतेमध्ये ११ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी रहेका छन्। घाइते भएकाहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। त्यमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने प्रहरी नायव निरीक्षक पदम लिम्बूको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि अन्यत्र पठाइएको जनाएको छ।
आन्दोलनकारीमध्ये केहीको अवस्था मध्यमदेखि गम्भीर रहेको बताइएको छ। विभिन्न स्थानमा घाइते फेला परेका आन्दोलनकारीलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ र अन्य सुविधासम्पन्न अस्पतालहरूमा पठाइएको जनाएको छ।
प्रहरीले झडपपछि १५ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ। झडप वीरेन्द्रचोकमा भएको थियो त्यहाँ आन्दोलनकारीहरूले राँके जुलुस प्रदर्शन गरेका थिए। प्रदर्शनमा मधेश प्रदेशबाट आएका व्यक्तिहरू समेत सहभागी भएको प्रहरीले जनाएको छ।
हाल नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













