घोराही सिमेन्ट आर्थिक संकटको भुमरीमा, तेस्रो त्रैमासमा ५५ करोडभन्दा बढी घाटा

२९ बैशाख २०८२, सोमबार ०९:०४

काठमाडौँ । घोराही सिमेन्टको वित्तीय अवस्था दिनदिनै संकटतर्फ धकेलिँदै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा कम्पनी आर्थिक दृष्टिले टाटपल्टिनै नजिक पुगेको स्पष्ट देखिएको हो ।

कम्पनीले चालु वर्षको चैत मसान्तसम्ममा ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २५ लाख रुपैयाँ घाटा देखाएको थियो । नोक्सानी अघिल्लो वर्षभन्दा केही कम भए पनि कम्पनीको समग्र वित्तीय अवस्था अझै पनि धराशायी अवस्थामा नै छ ।

सञ्चालन आम्दानी केही बढेर ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ पुगेको देखिए पनि यसले कम्पनीको घाटालाई टार्न सक्ने संकेत देखिएको छैन । कुल नाफा भने ७१ करोड ४४ लाख रुपैयाँमा पुगेको देखिए पनि, यसले वास्तविक सुधार होइन, लेखापालकीय समायोजन वा अन्य अस्थायी आम्दानीको आडमा आएको आँकडा जस्तो देखिएको छ।

गत वर्षको सो अवधिसम्म २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा अहिले आएर बल्ल १ करोड ७३ लाख रुपैयाँ मात्र धनात्मक देखिएको छ । यो सुधार पनि नाम मात्रको हो, किनभने यस्तो सानो धनात्मक मुनाफाले यति विशाल नोक्सानी बोकेको कम्पनीलाई दीर्घकालीन राहत दिन सक्दैन ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ भन्दा बढी छ, तर यति ठूलो पूँजी बोकेर पनि कम्पनी आर्थिक रूपमा असफल देखिनु व्यवस्थापनको कमजोरीको प्रमाण हो । १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रिटेन्ड अर्निङ ऋणात्मक अवस्थामा हुनु र २ अर्ब ६५ करोड रुपैयाँ शेयर प्रिमियमले पनि कम्पनीको हालत सुधार गर्न नसक्नुले थप निराशाजनक तस्वीर प्रस्तुत गर्छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक १२ रुपैयाँ १४ पैसा रहेको छ, जुन लगानीकर्ताका लागि सीधा घाटाको संकेत हो । प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ देखिए पनि यो आँकडा कम्पनीको दीर्घकालीन वित्तीय जोखिम र व्यवस्थापन असक्षमताबाट ढाकछोप गर्न सक्ने अवस्था छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*