सगरमाथा संवादः तीन दिनमा जलवायु परिवर्तनका विविध पक्षमा अन्तर्राष्ट्रिय छलफल

काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्वसमुदायलाई सन्देश दिन नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ।
यो संवादमा करीब ५० देशका तीन सयभन्दा बढी उच्चपदस्थ पाहुना, विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, मन्त्री तथा जलवायु क्षेत्रमा क्रियाशील व्यक्तिहरू सहभागी हुनेछन्।
सगरमाथा संवादमा जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य भन्ने मूल विषयमा केन्द्रित रहेर तीन दिनसम्म १२ विषयमा घनिभूत छलफल गरिने योजना रहेको छ।
समावेशीता, विज्ञान र प्रविधिको प्रयोग, हरित ऊर्जा, खाद्य सुरक्षा, जलवायु न्याय, महिला सहभागिता, हिमाली जोखिम र सहनशीलता जस्ता विषयमा विशेष सत्र सञ्चालन गरिने बताइएको छ।
संवादको पहिलो दिन उद्घाटन सत्रपछि हिमनदी संरक्षण, टापु–पहाड सम्बन्ध, कृषिमा जलवायु अनुकूलता र सामुदायिक नेतृत्वका प्रयासबारे छलफल हुनेछ।
दोस्रो दिन हरित अर्थतन्त्र, स्वच्छ ऊर्जा, प्राकृतिक जोखिम न्यूनीकरण, दिगो शहर तथा समुदाय निर्माण, लैङ्गिक समानता, प्रविधि र हिमाली अर्थतन्त्रबारे आठ वटा सत्र चल्नेछन्।
अन्तिम दिन हवाई मार्गबाट सहभागी पाहुनालाई सगरमाथा क्षेत्रको अवलोकन गराइनेछ र ‘सगरमाथा संवाद २०२५’ घोषणापत्र जारी गरी कार्यक्रम समापन हुनेछ।
नेपालले सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हिमाली देशको हैसियतले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने र प्रभावकारी सन्देश दिने अपेक्षा राखेको छ।