ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवद्वारा एक अर्ब २१ करोडको कर छली

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोड रुपैयाँ बराबरको कर छली गरेको आरोपसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले देवविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारबाही प्रक्रिया अघि बढाएको हो।
विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार देवले ठूलो परिमाणमा कर छल्ने नियतले गलत विवरण पेश गरेका छन्। विभागको अनुसन्धान अनुसार नयाँ बानेश्वरस्थित कन्सल्टेन्सी तथा कन्स्ट्रक्सन कारोबार गर्दै आएको उक्त कम्पनीले वस्तु तथा सेवा प्रदान नगरी बिल मात्रै जारी गरेको, खरिदको भुक्तानी बैंकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको पाइएको छ।
त्यसैगरी, कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आय विवरण दाखिला नगरेको, झुटा विवरण पेश गरेको, खरिदको स्रोत पुष्टि गर्न नसकेको तथा नेपाल सरकारलाई बुझाउनुपर्ने कर नतिरेको आरोप विभागले लगाएको छ।
विभागको भनाइअनुसार ध्रुव देवले मूल्य अभिवृद्धि करतर्फ ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपैयाँ बराबरको राजस्व छली गरेका छन्। विभागले ऐनको दफा २३ अनुसार बिगो असुलसहित सोही रकम बराबरको जरिवाना गरी कुल एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपैयाँ असुल गर्नुपर्ने मागसहित अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ।
यससँगै विभागले देवलाई ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी पनि गरेको छ। विभागको भनाइमा देवको कार्यले ऐनको दफा ३ विपरीत कार्य गरी दफा ४ अनुसारको कसुर प्रमाणित भएको हो।