शिवम सिमेन्ट्सको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासहितका प्रमुख सूचांकमा उल्लेख्य बृद्धि

३० बैशाख २०८२, मंगलवार १०:२०

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफासहितका अधिकांश सूचांकहरुमा बृद्धि देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको सञ्चालन आम्दानी १०.०१ प्रतिशत घटेको छ भने कुल नाफा ३१.४३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।

पाँच अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*