ओखलढुङ्गाका इन्जिनियर ५ लाख ७० हजार घुस लिँदै गर्दा लोकन्थलीबाट पक्राउ

काठमाडौं । ओखलढुङ्गाका इन्जिनियर सन्तोष कुमार यादव खोटाङमा सडक निर्माणको पैसा भुक्तानी गरिदिन्छु भन्दै ५ लाख ७० हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा घुस रकम सहित पक्राउ परेका छन्।
पक्राउ परेका यादव सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत छन्। उनले खोटाङ जिल्लामा निर्माण हुँदै गरेको सडकको ‘रनिङ बिल’ भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा खटिएर गएको टंगालस्थित अख्तियारको टोलीले यादवलाई घुस सेवाग्राहीबाट लिइसकेको अवस्थामा घुस रकम सहित भक्तपुरको मध्यपुरको लोकन्थलीबाट जेठ १ गते पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।