महिला सशक्तीकरणको सन्देश सहित ‘कर्पोरेट महिला बाइक र्याली २०२५’ सम्पन्न

काठमाडौं । महिलाको आत्मविश्वास, साहस र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजित ‘कर्पोरेट महिला बाइक र्याली २०२५’ सम्पन्न भएको छ।
कर्पोरेट समाचार अनलाइनको आयोजनामा र रोयल इन्फिल्डको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ४७ जना महिला बाइक राइडरले सहभागिता जनाएका थिए।
र्यालीको उद्घाटन कार्यक्रममा नेपालकै पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठ, नाडाका अध्यक्ष करण चौधरी, पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल तथा आयोजक संस्थाकी अध्यक्ष संगिता खत्री सहभागी थिए।

कार्यक्रममा बोल्दै कमला श्रेष्ठले महिलाहरूले बाइक चलाएर आफ्नो आत्मबल र क्षमता देखाएको र यो र्यालीले महिलाको नेतृत्व क्षमता र साहसको सन्देश दिएको बताइन्।
नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको र यस्तो कार्यक्रमले अझ प्रेरणा दिने बताए।

त्यस्तै पूर्व अध्यक्ष कृष्णप्रसाद दुलालले महिला बाइक राइडरहरू सामाजिक सोच परिवर्तन गर्न पनि अग्रसर भएको उल्लेख गरे।
रोयल इन्फिल्ड नेपालका निर्देशक पौड्यालले महिलाहरूको आत्मबल देख्दा गर्व लागेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रममा साथ दिँदै जाने प्रतिबद्धता जनाए।

र्याली काठमाडौँबाट शुरू भई नगरकोटसम्म पुगेको थियो। यात्राको क्रममा एम्बुलेन्स र मेडिकल सहायताको व्यवस्था गरिएको थियो।
नगरकोटमा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले राइडरहरूलाई स्वागत गर्दै महिलाहरू अब हरेक क्षेत्रमा अगाडि रहेको र यस्तो यात्राले त्यो सन्देशलाई बलियो बनाउने बताइन्।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाकी अध्यक्ष संगिता खत्रीले सहभागी र सहकार्य गर्ने सबैलाई धन्यवाद दिँदै यस्ता कार्यक्रम अझ ल्याउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा सहभागी राइडरहरूलाई मायाको चिनो र प्रशंसा–पत्र प्रदान गरिएको थियो।












