९ सिटे ईभी भ्यानलाई ११ सिट देखाएर ४ करोड राजस्व छलि

काठमाडौं । रसुवा भन्सार कार्यालयबाट चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधनमा भन्सार दरको अनुचित वर्गीकरण गरी राजस्व छली भएको भन्दै महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले छानबिन गरी ३ करोड ९१ लाख ५२ हजार असुल गर्न सुझाव दिएको छ।
महालेखाका अनुसार रसुवा नाकाबाट चीनको एक कम्पनीबाट केवायसीभी ५ मोडेलका ८५ वटा विद्युतीय सवारीसाधन आयात गर्ने क्रममा सवारीको वास्तविक सिट क्षमता ९ मात्र हुँदाहुँदै पनि ११ सिट देखाइएको थियो। आर्थिक ऐन, २०८० को दफा २ (१) सँग सम्बन्धित अनुसूची–१ को दफा १२ (५) अनुसार सिट संख्याको गणना गर्दा चालक सिट र यात्रु सिट मात्र मान्य हुने व्यवस्था छ। तर, कण्डक्टर सिट, फोल्डिङ सिट तथा अन्य अस्थायी सिटलाई समावेश गरेर ११ सिट कायम गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसअनुसार सवारीसाधनको वर्गीकरण भ्यानको रूपमा हुनुपर्नेमा गलत रूपमा बढी सिट देखाई ‘प्यासेन्जर भ्यान’ का रूपमा भन्सार उपशीर्षक ८७०२ मा राखिएको थियो। जबकि ९ सिट रहेको सवारीसाधन ‘मोटरकार वा अन्य सवारी’ श्रेणीअन्तर्गत ८७०३.८०.५९ मा पर्न जान्छ, जसमा १५ प्रतिशत भन्सार, १० प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक दस्तुर र मूल्य अभिवृद्धि करसमेत लाग्ने व्यवस्था छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार उक्त सवारीसाधनको तौल १ हजार ५७० किलोग्राम र आयतन १५.०२ घनमिटर मात्र रहेको हुँदा भ्यानभन्दा ठूलो सवारी मान्न नमिल्ने अवस्था छ। बीजक, ढुवानी विवरण र प्रज्ञापनपत्रमा समेत ‘प्यासेन्जर भ्यान’ उल्लेख गरिए पनि सिट संख्यामा कानुनी स्पष्ट व्यवस्था हुँदाहुँदै सावधानी नअपनाइएका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाएको देखिएको छ ।