३ करोड ६१ लाख बराबरको अवैध कृषि औजार सहित ३ वटा भारतीय कन्टेनर नियन्त्रणमा

काठमाडौं । भारतबाट नेपाल ल्याइँदै गरेको अवैध कृषि औजार सहित ३ वटा कन्टेनर झापामा प्रहरीले नियन्त्रणमा लिएको छ।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा भारततर्फबाट काकडभिट्टा हुँदै एनएल०१एएच ५६७९, एनएल०१एन ९२२३ र एनएल०२एल ७४८६ नम्बरका तीनवटा भारतीय कन्टेनर नेपाल प्रवेश गरेका थिए।
प्रहरीले गोप्य सूचना पाएपछि ती कन्टेनरहरू जाँच गरेको थियो। जाँच गर्दा कन्टेनरभित्र “ट्र्याक कम्बाइन हार्भेस्टर” नामको ठूलो कृषि मेसिन र त्यसमा प्रयोग हुने सामग्रीहरू फेला परेको थियो।
ती सामानको मूल्य करिब ३ करोड ६१ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ती सामान र कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ। साथै प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।











