नागढुङ्गा–मुग्लिङ सडक १५ दिन आंशिक बन्द

११ जेष्ठ २०८२, आईतवार ०९:२९

काठमाडौं । नागढुङ्गा–पिपलामोड खण्ड (त्रिभुवन राजपथ) जेठ १० देखि २५ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म आंशिक रुपमा बन्द हुने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत कालोपत्रे कार्यका लागि अस्थायी बन्द गर्न लागिएको हो। मनसुन शुरू हुनु अघि काम सम्पन्न गर्नुपर्ने भएकाले बाटो दैनिक साढे चार घण्टा बन्द गरेर निर्माण कार्यलाई तीव्रता दिन लागिएको हो।

यसअघि सवारीसाधनलाई एक लेनमा चलाएर काम गर्दा सवारी जाम र निर्माणमा ढिलाइ भएकाले अहिले बाटो बन्द गरेरै काम गर्ने निर्णय गरिएको हो।

पूर्वी खण्डको कुल १२ किलोमिटरमध्ये ९ किलोमिटरको काम सकिएको छ भने ३ किलोमिटरमा कालोपत्रे बाँकी छ। जेठ २५ गतेभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस अवधिमा यात्रु तथा सवारीधनीहरूलाई वैकल्पिक मार्गहरू सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के वा सामाखुसी–टोखा–गुर्जेभन्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

नागढुङ्गा–मुग्लिङ सडक विस्तार परियोजना अन्तर्गत कुल ९५ किलोमिटर सडक विस्तार कार्य भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*