सभापति देउवालाई लिएर गृहमन्त्री रमेश लेखक बालुवाटारमा, नयाँ गृहमन्त्री को ?

काठमाडौं । भिजिट भिषामा दुबई लगायतका देशहरुमा काठमाडौंस्थित विमानस्थलबाट नेपालीहरुलाई पठाउँदा अर्बौ रुपैयाँ घुस काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखक पार्टी सभापति शेर बहादुर देउवासहितका नेताहरु लिएर बालुवटार पुगेका छन् ।
विपक्षी दलहरुले चर्को विरोधका बीचमा गृहमन्त्री लेखकले राजिनामा दिने वा नदिनेबारे अन्तिम छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतासहित भेला बोलाइएको हो ।
बालुवाटारमा भइरहेको छलफलमा कांग्रेस सभापति देउवा, पत्नी आरजु राणा, कृषि मन्त्री रामनाथ अधिकारी र उपभापति पूर्ण बहादुर खड्का सहभागी छन् । एमालेको तर्फबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् । सो बैठकमा विवादित गृहमन्त्री लेखक समेत सहभागी भएका छन् ।
आजै लेखकको राजिनामा आउन सक्ने स्रोतले जनाएको छ । उता, गृहमन्त्री रिक्त भएमा को मन्त्री बन्ने दौडधुप नेपाली कांग्रेसभित्र सुरु भएको छ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौला गृहमन्त्री बन्न सक्ने प्रबल सम्भावना रहेको बताइन्छ ।