गिठ्ठी–बालुवा तस्करको पक्षमा अर्थमन्त्रीको ओकालत

२ असार २०८२, सोमबार १७:०५

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले गिठ्ठी–बालुवा तस्करी, अवैध खनन र वातावरणीय विनाशबारे गम्भीर प्रश्न उठाउँदा अर्थमन्त्री विष्णु पौडेलले दिएको जवाफले उल्टै तस्करहरूको पक्षपोषण गरेको आरोप लाग्न थालेको छ।

सोमबार संसदमा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमाथि छलफलका क्रममा मन्त्री पौडेलले प्राकृतिक तथा वातावरणीय दृष्टिकोणले उपयुक्त र आर्थिक दृष्टिकोणले सम्भाव्य खानीजन्य क्षेत्रको अध्ययन गर्छौं, उत्खनन गर्दै आन्तरिक बजारमा उपभोग गर्छौं भन्दै गिट्ठी–बालुवा निकासीलाई बजेटले प्राथमिकता दिएको स्पष्ट संकेत गरे।

उनको भने ‘उपभोग गरेर बचेको खण्डमा अन्तर्राष्ट्रिय बजारमा समेत बेच्न सक्छौं। दुनियाका कुनै देश प्राकृतिक स्रोत उपयोग गरेर विकसित भएका छन्। हामी पनि खानीजन्य उद्योगबाट आन्तरिक बजारमा वस्तु उपयोग गरी बाँकी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्छौं।’

तर मन्त्री पौडेलको यो धारणा सांसदहरूको मूल चिन्ता र जनताको मागसँग मेल खाँदैन। सांसदहरू गिठ्ठी–बालुवा तस्करी नियन्त्रण, पर्यावरणीय संरक्षण, नदीको दोहन र जनजीवन प्रभावित हुने अवस्थाबारे चित्तबुझ्दो जवाफ खोजिरहेका थिए। तर अर्थमन्त्रीले दिएको अभिव्यक्तिले तस्करीलाई वैध व्यापारको रुपमा स्थापित गर्न खोजेकोजस्तो बुझिएको छ।

खानीजन्य स्रोतको नियमन र संरक्षणको सट्टा तस्करहरूलाई कानुनी आवरण दिन खोजिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*