ग्यास लुकाउने र बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने काठमाडौं जिल्ला प्रशासनको चेतावनी

२८ भाद्र २०८३, आईतवार ०८:०५

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम लिने विक्रेता र वितरकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौंमा ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि प्रशासनले सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। प्रशासनले ग्यास विक्रेतालाई उद्योगी वा डिलरबाट ग्यास प्राप्त हुनासाथ जुनसुकै समयमा उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।

बजारमा ग्यासको मूल्य र उपलब्धताबारे सघन अनुगमन भइरहेको जनाउँदै प्रशासनले सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएको पाइएमा कालोबजारीसम्बन्धी कानुनअनुसार कारबाही गर्ने जनाएको छ। त्यस्तै ग्यास भण्डारण गरी लुकाएको वा बिक्री नगरी राखेको पाइएमा अनुगमन टोलीले तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि दिइएको छ।

ग्यास लुकाएको वा स्टक राखेर बिक्री नगरेको जानकारी पाएमा उपभोक्तालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तत्काल जानकारी दिन प्रशासनले आग्रह गरेको छ। प्रशासनले कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*