कृष्णभिरमा सडक खुलाउने काम तीव्र, ग्यास बुलेटबाट परीक्षण गरिँदै

२८ भाद्र २०८३, आईतवार १७:१५

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको हो।

धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कृष्णभिरमा स्थलगत निरीक्षण गरिरहेको छ। सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरी काम तीव्र पारिएको छ।

कृष्णभिरमा दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने तथा सवारीसाधन आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम भइरहेको छ। सडकको ग्राभेलिङ र कम्प्याक्सन भने बाँकी रहेको छ।

तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ। मौसमले साथ दिएमा आजै आंशिक रूपमा यस्ता सवारीसाधन सञ्चालन गर्न सकिने जनाइएको छ।

त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता तथा आवागमनको अवस्था परीक्षण गरिनेछ। सडक सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ, कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*