आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औं स्मृति दिवस आज भदौ २९ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस मनाउने निर्णय गर्दै महाकवि देवकोटा संग्रहालय मैतीदेवीमा महाकवि देवकोटा मिथ र यथार्थ विषयक गोष्ठीको तयारी गरेको छ।
महाकवि देवकोटाको जन्म वि.संस १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाको दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो भने निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो।
१० वर्षको उमेरदेखि नै कविता लेख्न थालेका देवकोटाले थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता लेखेका छन्। उनले लेखेको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो।










