होर्मुजमा आक्रमणपछि बढ्यो तेलको मूल्य, प्रतिब्यारेल १०७ डलर पार

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र प्रमुख तेल आपूर्ति मार्गमा देखिएको जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
साउदी अरेबियामाथि यमनको हुथी समूहले गरेको भनिएको पछिल्लो आक्रमण तथा होर्मुज जलडमरूमा पानीजहाजमाथि भएको प्रक्षेप्य आक्रमणले विश्व बजारमा तेल आपूर्तिबारे चिन्ता बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको वायदा मूल्य २.९० डलर अर्थात् २.७७ प्रतिशतले बढेर प्रतिब्यारेल १०७.५१ डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य २.२७ डलर अर्थात् २.२७ प्रतिशत बढेर प्रतिब्यारेल १०२.३२ डलर पुगेको छ। कारोबार सुरु हुँदा केही समय तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेको थियो।
साउदी अरेबियाको दक्षिणी जजान प्रान्तमा हुथी समूहको आक्रमणबाट घर तथा एउटा मस्जिदमा क्षति पुगेको दृश्य सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको छ। हुथी समूहले छिमेकी क्षेत्रमा रहेको साउदी सैन्य आधारलाई समेत निशाना बनाएको दाबी गरेको छ।
यसैबीच, विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलडमरूमा एउटा पानीजहाजमाथि प्रक्षेप्य आक्रमण भएको बेलायती समुद्री सुरक्षा निकाय यूकेएमटीओले जनाएको छ। आक्रमणपछि जहाजमा आगलागी भएपछि चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।
इरानले पनि आफ्नो तटनजिकै एउटा इरानी व्यावसायिक जहाजमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको र चार जना चालक दलका सदस्य घाइते भएको जनाएको छ।
तेल बजारमा थप चिन्ता साउदी अरेबियाको पूर्व–पश्चिम तेल पाइपलाइन सञ्चालन बन्द भएपछि बढेको छ। इराकबाट गरिएको भनिएको ड्रोन आक्रमणपछि शुक्रबार उक्त पाइपलाइन बन्द गरिएको थियो।
होर्मुज जलडमरू प्रयोग नगरी तेल निर्यात गर्न साउदीले प्रयोग गर्ने यो प्रमुख वैकल्पिक मार्ग हो। पाइपलाइन लामो समय बन्द रहेमा विश्वव्यापी तेल आपूर्तिको करिब ४ प्रतिशतसम्म प्रभावित हुन सक्ने अनुमान गरिएको छ। विश्वकै ठूलो तेल निर्यातकर्ता साउदीको तेल पूर्वाधारमा देखिएको अवरोधले आपूर्ति जोखिम थप गहिरिएको हो।
यता, लाल सागर क्षेत्रको अर्को महत्वपूर्ण समुद्री मार्ग बाब–अल–मन्देबमा पनि सुरक्षा चुनौती बढेको छ। इरान समर्थित हुथी समूह रणनीतिक रूपमा महत्वपूर्ण पेरिम टापुसम्म पुगेको विवरण सार्वजनिक भएपछि उक्त जलडमरूमाथि समूहको प्रभाव बढ्न सक्ने आशंका गरिएको छ।
पछिल्ला महिनामा बाब–अल–मन्देब हुँदै विश्वको करिब ४ देखि ५ प्रतिशत तेल आपूर्ति हुने गरेको बताइन्छ। होर्मुज र बाब–अल–मन्देब दुवै मार्गमा जोखिम बढ्दा विश्व ऊर्जा बजारमा आपूर्ति अवरोधको सम्भावना थप बलियो भएको छ।
आपूर्ति अवरोधसम्बन्धी चिन्ताका कारण गत साता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ८ प्रतिशतले बढेको थियो। त्यसक्रममा तेलको मूल्य जुलाईयता पहिलोपटक प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो।
बजार विश्लेषक टोनी साइकामोरले साउदीको पूर्व–पश्चिम पाइपलाइन तत्काल सञ्चालनमा आउन नसके वा कूटनीतिक माध्यमबाट तनाव कम गर्ने ठोस पहल नभए तेलको मूल्यमा थप दबाब कायम रहन सक्ने बताएका छन्।
यसैबीच, होर्मुज जलडमरूको पछिल्लो अवस्थाबारे छलफल गर्न सोमबार ओमानमा हुने भनिएको खाडी राष्ट्र र इरानबीचको बैठक स्थगित भएको ओमानका विदेशमन्त्री बद्र अल्बुसाइदीले बताएका छन्।










