बालेन्द्र शाहले असोज ३ गते जनतालाई सम्बोधन गर्ने, संविधान दिवस भव्य रुपमा मनाउने तयारी

काठमाडौं । यही असोज ३ गते शनिबार संविधान दिवसको अवसरमा मूल समारोहका अध्यक्ष प्रधानमन्त्री बालेन्द्र शाहले सैनिक मञ्च टुँडिखेलबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गत शुक्रबार बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज ३ गते भव्य कार्यक्रम गरी मनाउने निर्णय भएको छ । स्रोतले बीमापोष्टलाई भन्यो “आजसम्मको अद्यावधिक जानकारी अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले असोज ३ गतेको संविधान दिवसको दिनमा सम्बोधन गर्नुहुने कार्यतालिका छ ।”
यसअघि तराईंमा जातीय द्वन्द्व हुँदा फेसबुकमार्फत राष्ट्रका नाममा बोलेका भए पनि औपचारिक रूपमा राष्ट्रको नाममा सम्बोधन गर्न लागेको यो पहिलोपटक हो । प्रधानमन्त्रीमा नियुक्त एक पटक प्रतिनिधि सभामा पुगेर ‘लौ माननीय ज्यूहरु तपाईका के के प्रश्न भन्नुस्’ भनेर आवेगपूर्ण र खिसीट्युरीको शैलीमा सम्बोधन गरेको बाहेक सुझबुझपूर्ण र जिम्मेवारीसाथ प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गरेका छैनन् । यसअघि गत भदौं १० गते संसदमा सांसदहरुको प्रश्नउत्तोर कार्यक्रममा मन्तव्य दिने कार्यक्रम सुरु हुनै लाग्दा रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको थियो ।
यही असोज ३ गते नेपालको संविधान जारी भएको ११ बर्ष पुरा भई १२ बर्षमा प्रवेश गर्दैछ । १२ औं संविधान तथा राष्ट्रिय दिवसको अवसरमा मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम समावेश छ । मूल समारोह समिति प्रधानमन्त्रीको अध्यक्षतामा रहेको छ । सो समितिमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सबै सांसदहरु, सबै मन्त्रीहरु, चार वटै सुरक्षा अंगका प्रमुखहरुसहित राजधानी उपत्यकाका सबै मेयरहरु सदस्य रहेका छन् ।
असोज ३ गते संक्षिप्त कार्यक्रम हुने जनाइएको छ । टुँडिखेलमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, प्रधानमन्त्रीले संविधान दिवसको अवसरमा सम्बोधन समेत सोही मञ्चबाट हुनेछ ।
२०६३ साल बैशाख ११ गते जनआन्दोलनमार्फत राजा ज्ञानेन्द्रले सत्ता त्याग गर्न तयार भएपछि २०६४ र २०७० सालमा सम्पन्न भएको संविधानसभाको निर्वाचनमार्फत २०७२ साल असोज ३ गते संविधानसभामार्फत राष्ट्रपति डा. रामवरण यादवबाट नयाँ संविधान जारी भएको थियो । कूल ३५ भाग, ३०८ धारा र ९ वटा अनुसूची रहेको नेपालको संविधान २०७२ संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई आत्मसात गरेर अघि बढिरहेको छ । समाजप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको संविधानको मर्म अनुसार कुनै पनि दलहरुले प्रभावकारी काम गर्न सकेका छैनन् । असोज ३ गते संविधान दिवस मनाउने मूल समारोह समितिका अध्यक्ष बालेन्द्र शाह नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानको मर्म र भावना विपरित उदारवादी अर्थनीतिमा मुलुकलाई अघि बढाउने प्रतिबद्धता जनाइरहेका छन् ।









