विपद्पछि सुरक्षित बस्ती निर्माणमा बहस, काठमाडौँमा विज्ञदेखि निजी क्षेत्रसम्मको जमघट

२९ भाद्र २०८३, सोमबार १७:३६

काठमाण्डौं । बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्बाट क्षतिग्रस्त बस्ती तथा पूर्वाधारको पुनर्निर्माणलाई दिगो र सुरक्षित बनाउनेदेखि जोखिमयुक्त क्षेत्रका बस्तीलाई स्थानान्तरण गर्नेसम्मका विषयमा विज्ञ, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबिच काठमाडौँमा विस्तृत अन्तरकृया तथा छलफल हुने भएको छ ।

भृकुटीमण्डपमा असोज १ देखि ४ गतेसम्म आयोजना हुने ‘नवौँ सिजी प्रोपर्टिज नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी २०८३’ को अवसर पारेर एक्स्पो कन्फरेन्स हलमा विशेष प्राविधिक सत्र तथा उच्चस्तरीय प्यानल छलफल सञ्चालन गर्न लागिएको एक्स्पो संयोजक रोशन भोयध्योले जानकारी दिए ।

आयोजकका अनुसार चारदिने प्रदर्शनीका सुरुआती तीन दिनमा निर्माण, भू उपयोग, विपद् उत्थानशीलता, पुनर्वास र सार्वजनिक निजी साझेदारीमा आधारित एकीकृत आवास विकासलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।

प्रदर्शनीको पहिलो दिन असोज १ गते दिउँसो २ बजे ‘घर तथा भवन निर्माणमा वास्तुशास्त्रको महत्त्व’ विषयमा विशेष सेमिनार आयोजना हुनेछ । सेमिनारमा वास्तुविज्ञ डा. माधव मङ्गल जोशीले मुख्य प्रस्तुति दिनेछन् । आधुनिक आवास विकासमा भवनको संरचनात्मक सुरक्षा, स्थान छनोट, वातावरण, प्रकाश तथा हावाको व्यवस्थापनसँग वास्तुशास्त्रको सम्बन्धबारे यस सत्रमा गहन चर्चा गरिनेछ।

दोस्रो दिन असोज २ गते विपद् र पुनर्वाससँग प्रत्यक्ष सम्बन्धित दुई महत्त्वपूर्ण प्राविधिक प्रस्तुतिहरू रहनेछन्। ‘उच्च जोखिम क्षेत्रमा विपद् उत्थानशील पूर्वाधार र दिगो निर्माण’ विषयमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव आर्किटेक्ट पद्म कुमार मैनालीले प्रस्तुति दिनेछन्, जसमा विपद्को जोखिम मूल्याङ्कन, संरचनागत सुरक्षा र दिगोपनको विषय समेटिनेछ । सोही सत्रमा भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टले ‘भूउपयोग वर्गीकरण, सुरक्षित भूमि एवं बस्ती विकास र बाढी पीडितहरूका लागि स्थानान्तरण योजना’ माथि आफ्नो प्रस्तुति राख्नेछन् । यस प्रस्तुतिले बाढी प्रभावित परिवारको तत्काल राहतपछिको दीर्घकालीन पुनर्वास, सुरक्षित भूभागको पहिचान तथा नयाँ स्थानमा आवाससँगै सडक, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य र जीविकोपार्जनका पूर्वाधार कसरी पुर्‍याउने भन्ने विषयलाई उजागर गर्नेछ । यो सत्रको अध्यक्षता नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णु प्रसाद घिमिरेले गर्नेछन् भने महासङ्घका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले सहजीकरण गर्नेछन् ।

तेस्रो दिन असोज ३ गते विपद्पछिको पुनर्निर्माणमा निजी क्षेत्रको सहभागिता र नीतिगत व्यवस्थामाथि प्यानल छलफल हुनेछ । विपद्पछि ठूलो सङ्ख्यामा संरचना निर्माण गर्दा सरकारी स्रोत मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापन क्षमता परिचालन गर्नेबारे छलफल केन्द्रित हुनेछ । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरको अध्यक्षता र ख्वप इन्जिनियरिङ कलेजकी आर्किटेक्ट प्रमिला शिल्पकारको मोडरेसनमा हुने यस छलफलमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त प्रकाश अर्याल, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्रा, सोनाका अध्यक्ष आर्किटेक्ट ईश्वर लाल श्रेष्ठ, नेपाल जियोटेक्निकल सोसाइटीका निवर्तमान अध्यक्ष डा. मन्दिप सुवेदी र काठमाडौँ इन्स्टिच्युटका निर्देशक अकाडेमीसियन आर्किटेक्ट बीरेश शाह प्यानलिस्टका रूपमा रहनेछन् । प्यानलमा निजी क्षेत्रलाई सहभागी गराउँदा लागत, गुणस्तर, लाभग्राही छनोट, भूमि उपलब्धता र दीर्घकालीन व्यवस्थापनलाई पारदर्शी बनाउने विषयमा समेत मन्थन हुनेछ ।

प्रदर्शनीको अन्तिम दिन असोज ४ गते प्रदर्शकहरूबिच व्यावसायिक बिटुबि अन्तरक्रिया आयोजना गरिनेछ । समग्रमा यस प्रदर्शनीले आवासलाई केवल घर निर्माण वा जग्गा कारोबारमा मात्र सीमित नराखी सुरक्षित स्थान, योजनाबद्ध बस्ती र विपद् प्रतिरोधी पूर्वाधार निर्माणको नीतिगत सुधारका लागि महत्त्वपूर्ण मञ्च तयार गर्ने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*