३६५ दिनभन्दा बढी शेयर राख्नेलाई लाभकर ३.७५ प्रतिशत, नोक्सानी पनि समायोजन गर्न पाइने

३० भाद्र २०८३, मंगलवार १०:३७

काठमाडौं । सरकारले धितोपत्र बजारमा हुने दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न विद्यमान कर व्यवस्थामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा धितोपत्र कारोबारबाट प्राप्त लाभमा लाग्ने पुँजीगत लाभकरको दर तथा लाभ–नोक्सानी समायोजन प्रणालीमा सुधार गर्ने प्रस्ताव गरिएको हो ।

प्रस्तावित व्यवस्थाअनुसार सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभमा बासिन्दा प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको हितबाट प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिनेछ । त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखिएको हितबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

हालको कर प्रणालीलाई दीर्घकालीन लगानीलाई थप प्रोत्साहन गर्ने गरी परिमार्जन गर्न यस्तो प्रस्ताव अघि सारिएको मन्त्रालयले जनाएको छ । प्रस्तावित व्यवस्थाले लामो समयसम्म सेयर स्वामित्वमा राख्ने लगानीकर्तालाई छोटो अवधिका लगानीकर्ताभन्दा कम दरमा कर लाग्ने व्यवस्था गर्नेछ ।

त्यसैगरी, सूचीकृत धितोपत्रको बिक्रीबाट भएको नोक्सानीलाई सोही आय वर्षमा भएको सूचीकृत धितोपत्रको बिक्रीबाट प्राप्त लाभसँग समायोजन गर्न पाउने व्यवस्था ल्याउने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट नोक्सानी बेहोरेमा सोही आय वर्षमा सूचीकृत धितोपत्रको बिक्रीबाट भएको लाभसँग उक्त नोक्सानी समायोजन गर्न पाउने व्यवस्था सम्बन्धमा अध्ययन गरिनेछ ।

सरकारले लाभ–नोक्सानी गणना गर्ने विधिमा समेत सुधार गरी कारोबार तथा राफसाफ प्रणालीबाटै नाफा र घाटा समायोजन गर्ने व्यवस्था मिलाउने प्रस्ताव गरेको छ । नाफा र घाटा समायोजन गरेपछि खुद लाभ भएमा मात्र तोकिएको दरमा पुँजीगत लाभकर लगाउने र त्यस्तो करलाई अन्तिम करका रूपमा लिने व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*