लक्ष्मी हुन्डाईका दुई प्राविधिक उन्नत तालिमका लागि दक्षिण कोरिया प्रस्थान

काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक उन्नत सवारीसाधनसम्बन्धी तालिम लिन दक्षिण कोरिया प्रस्थान गरेका छन् ।
उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमीअन्तर्गत उन्नत सवारीसाधनको जाँच तथा खराबी पहिचान, मर्मतसम्भार र नयाँ सवारीसाधन प्रविधिबारे प्रशिक्षण लिनेछन् ।
प्राविधिक शिक्षा, अप्रेन्टिससिप र रोजगारीसम्मको उनीहरूको यात्रा चार महिनामै पूरा भएको कम्पनीले जनाएको छ । यस अवधिमा उनीहरूले कक्षाकोठामा हासिल गरेको ज्ञानलाई वास्तविक कार्यस्थलमा प्रयोग गर्दै सवारीसाधनको सर्भिसिङ, जाँच तथा खराबी पहिचान र मर्मतसम्भारमा व्यावहारिक अनुभव हासिल गरेका थिए ।
अप्रेन्टिससिप पूरा गरेपछि उनीहरूलाई लक्ष्मी हुन्डाईमै रोजगारीको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्राविधिक सीप विकाससँगै रोजगारीको अवसर सुनिश्चित गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
लक्ष्मी हुन्डाईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका पोलिटेक्निक संस्थामा अध्ययनरत वार्षिक ५० भन्दा बढी विद्यार्थीलाई इन्टर्नसिप तथा अप्रेन्टिससिपको अवसर प्रदान गर्दै आएको छ ।









