नेप्सेमा कस्तो अवस्थामा लाग्छ सर्किट ब्रेक ?

काठमाडौँ । आज शेयर तीव्र उछाल देखिएसँगै लगानीकर्तामाझ सर्किट ब्रेकरसम्बन्धी चासो पनि बढेको छ । बजार निरन्तर बढिरहेको अवस्थामा कतिपय लगानीकर्ताले नेप्से परिसूचकमा कति प्रतिशतको वृद्धि हुँदा कारोबार रोकिन्छ भन्ने विषयमा चासो राखिरहेका छन् ।
तर, सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्था बैशाखमा नै आइसकेको छ । नेपाल स्टक एक्सचेन्जको मूल विनियमावलीको विनियम १७ मा रहेको व्यवस्थाअनुसार नेप्से परिसूचकको उतारचढावका आधारमा कारोबार रोक्का तथा बन्द हुने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार निरन्तर कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचक दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोक्का हुन्छ । त्यसपछि कारोबार पुनः सञ्चालन हुन्छ ।
त्यस्तै, कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा भने सो दिनका लागि सम्पूर्ण कारोबार बन्द हुने व्यवस्था छ । अर्थात् ५ प्रतिशतको उतारचढावमा १५ मिनेटको कारोबार रोक्का हुने र ८ प्रतिशतको उतारचढावमा दिनभरकै कारोबार बन्द हुने व्यवस्था रहेको छ ।
यसैगरी, कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्र मूल्यमा सोही दिन १५ प्रतिशतभन्दा बढी घटबढ हुने गरी कारोबार गर्न नपाइने व्यवस्था पनि विनियमावलीमा रहेको छ ।
सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गर्दै पुँजीबजार सुधारसँग सम्बन्धित २१ वटा योजना अघि सारेका थिए । सरकारबाट बजार सुधारका लागि विभिन्न योजना सार्वजनिक भएपछि लगानीकर्ताको मनोबल बढेको देखिएको छ ।
यसको प्रभाव मंगलबार बजार खुल्नुअघि नै देखियो । मंगलबारको प्रि–ओपन सेसनमै नेप्से परिसूचक करिब ९० अंकले उकालो लाग्यो । बजार खुलेपछि पनि तीव्र वृद्धि देखिएसँगै धेरै लगानीकर्ताले सर्किट ब्रेकर लाग्ने अनुमान गरेका थिए ।









