भारतबाट आएको तेल बाटोमै गायब, दुई ट्याङ्कर रंगेहात पक्राउ

काठमाडौँ । रुपन्देहीमा भारतबाट नेपाल भित्र्याइँदै गरेको पेट्रोलियम पदार्थ बीच बाटोमै निकालेर चोरी गरेको आरोपमा प्रहरीले दुईवटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ।
बुधबार बिहान करिब ९ बजे नेपाल आयल निगमको भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका दुई ट्याङ्कर भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा फेला परेका थिए। त्यसको करिब एक घण्टापछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले दुवै ट्याङ्करलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याङ्करमध्ये लु. २ ख १५४४ र लु. १ ख ६५०४ नम्बरका छन्। दुवै ट्याङ्करको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक सहचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र आयल सेन्टर सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुँदै आएको स्रोतको दाबी छ। स्रोतका अनुसार पछिल्लो करिब ६ महिनादेखि यस्तो गतिविधि भइरहेको आशंका गरिएको छ।
एउटा ट्याङ्करबाट दैनिक हजारौँ लिटर पेट्रोलियम पदार्थ निकालेर बिक्री गर्ने गरिएको आरोपसमेत छ। स्रोतले एक ट्याङ्करबाट दैनिक पाँच हजार लिटरसम्म तेल निकाल्ने गरिएको दाबी गरेको छ।
घटनामा नेपाल आयल निगमको भलवारी डिपोका केही अधिकारीको भूमिकामाथि समेत प्रश्न उठेको छ। ट्याङ्करबाट तेल निकाल्दा अनिवार्य रूपमा तोडिनुपर्ने सिलको नियमित जाँच नहुने तथा आयातित पेट्रोलियम पदार्थको नापजाँचमा समेत पर्याप्त निगरानी नभएको भन्दै डिपोका कर्मचारीको संलग्नताबारे अनुसन्धान हुनुपर्ने आवाज उठेको छ।
भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना सार्वजनिक हुँदै आएका थिए। पछिल्लो घटनापछि प्रहरीले ट्याङ्कर, आयल सेन्टर र डिपो तहमा हुने सम्भावित मिलेमतोबारे अनुसन्धान अघि बढाएको छ।









