घरजग्गामा फर्कियो चहलपहल: कारोबार ७ खर्ब नाघ्यो, राष्ट्र बैंकको रिपोर्टमा के के छ ?

३० भाद्र २०८३, मंगलवार १४:१५

काठमाडौं । नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा मात्रै घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा लिखत पारितको कारोबार संख्या १२.२८ प्रतिशतले बढेको छ भने अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो वृद्धि १५.४५ प्रतिशत थियो । त्यस्तै, लिखत पारितअन्तर्गत राजीनामा कारोबार संख्या २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राजीनामा कारोबार ८.१५ प्रतिशतले बढेको थियो ।

घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.४१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गाको कुल कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार रकम ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ थियो । चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रकम १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ थियो ।

घरजग्गा कारोबारबाट सरकारको राजस्व संकलनमा समेत वृद्धि भएको छ । समीक्षा अवधिमा घरजग्गा कारोबारबाट संकलित राजस्व ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो । घरजग्गा कारोबारबाट संकलित पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो । घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा, आवासीय घरजग्गा कर्जासहित, ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।

प्रदेशगत रूपमा हेर्दा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने यस्तो कारोबार संख्या ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा राजीनामा कारोबार संख्या बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

कारोबार भएको कुल क्षेत्रफलका आधारमा पनि बागमती प्रदेश अगाडि देखिएको छ । समीक्षा अवधिमा बागमती प्रदेशमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल ५०.२४ प्रतिशतले बढेको छ । मधेश प्रदेशमा भने यस्तो क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ । घरजग्गा कारोबारको कुल मूल्य भने सातवटै प्रदेशमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । बागमती प्रदेशमा कारोबारको कुल मूल्य सबैभन्दा धेरै १७५.३३ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा सातवटै प्रदेशमा २.५ देखि १० आनासम्म क्षेत्रफल भएका जग्गाका टुक्राको कारोबार सबैभन्दा धेरै भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेश प्रदेशमा २० आनाभन्दा बढी क्षेत्रफल भएका जग्गाका टुक्राको कारोबार सबैभन्दा धेरै थियो । अन्य प्रदेशमा भने २.५ देखि १० आनासम्म क्षेत्रफल भएका जग्गाका टुक्राको कारोबार बढी भएको थियो ।

महानगरपालिकातर्फ काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको वृद्धि सबैभन्दा तीव्र देखिएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.७४ प्रतिशतले बढेको छ । ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३.०४ प्रतिशत, विराटनगर महानगरपालिकामा ४७.५९ प्रतिशत र वीरगञ्ज महानगरपालिकामा २९.१९ प्रतिशतले कारोबार संख्या बढेको छ ।

सबै महानगरपालिकामा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल पनि बढेको छ । काठमाडौं महानगरपालिकामा यस्तो क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ भने वीरगञ्ज महानगरपालिकामा १३.३१ प्रतिशतले वृद्धि भएको छ । घरजग्गा कारोबारको कुल मूल्यसमेत सबै महानगरपालिकामा बढेको छ । काठमाडौं महानगरपालिकामा यस्तो वृद्धिदर सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*