रसुवा बाढीका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी

३१ भाद्र २०८३, बुधबार ११:४६

काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितको साना बीमा दाबीलाई तत्काल फर्छ्यौट गर्ने तयारी गरिएको छ। नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी भइरहेको बताएका छन्।

क्षेत्रीले प्राकृतिक विपत्तिबाट प्रभावित बीमितलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले संक्षिप्त कार्यविधिमार्फत साना दाबी फर्छ्यौट गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार बीमा प्राधिकरणसँग समन्वय गरी यस साता नै दाबी फर्छ्यौटसम्बन्धी संक्षिप्त कार्यविधि पारित गराउने तयारी भइरहेको छ। कार्यविधि आएपछि साना तथा तत्काल राहत आवश्यक पर्ने दाबीलाई लामो प्रक्रियामा अल्झिन नदिई छिटो भुक्तानी गर्ने बाटो खुल्नेछ।

क्षेत्रीका अनुसार दुर्घटना बीमा, मोटर बीमा, साना पसल तथा आवास बीमाका दाबीलाई प्राथमिकताका साथ द्रुत गतिमा फर्छ्यौट गर्ने गरी प्रक्रिया अघि बढाउन लागिएको छ।रसुवामा आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको क्षेत्रीले बताए। उनका अनुसार माथिल्लो त्रिशूली, रसुवागढी, माथिल्लो तामाकोशी, लामटाङलगायत चार–पाँच ठूला जलविद्युत् आयोजनासहित अन्य संरचनामा समेत गम्भीर क्षति पुगेको छ।

जलविद्युत् आयोजनामा भएको क्षतिको बीमा दाबी विगतमा निर्जीवन बीमा कम्पनीहरूले व्यहोर्दै आएको दाबीको आकारभन्दा २ देखि ४ गुणासम्म ठूलो हुनसक्ने प्रारम्भिक अनुमान रहेको उनले बताए।

ठूला जलविद्युत् आयोजनामा भएको क्षतिले नेपाली निर्जीवन बीमा कम्पनीको जोखिम वहन क्षमतामाथि समेत दबाब बढाउने देखिएको छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा जोखिम हस्तान्तरण गर्नुपर्ने आवश्यकता थप बढ्ने क्षेत्रीको भनाइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*