राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित

३१ भाद्र २०८३, बुधबार १३:२८

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकमा समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए।

विधेयकमाथि भएको दफावार छलफलका क्रममा समिति सदस्यहरूबाट प्राप्त सुझाव तथा धारणालाई समेटेर प्रतिवेदन तयार पारिएको सभापति बुढाथोकीले जानकारी दिए। विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउने विषयमा समितिका सदस्यहरूको सकारात्मक धारणा रहेको उनले बताए।

समितिका बैठकमा भएका निर्णयका आधारमै प्रतिवेदन तयार गरिएको उल्लेख गर्दै सभापति बुढाथोकीले निर्णयभन्दा बाहिरका कुनै विषय प्रतिवेदनमा समावेश भए–नभएको विषयमा समेत समितिको ध्यान केन्द्रित रहेको बताए।

उनले समितिका सदस्यहरूले आवश्यक ठानेमा थप सुझाव वा धारणा लिखित रूपमा अर्थ समिति सचिवालयमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*