ईभी दुर्घटना बढेको भन्दै सांसद बमले उठाए सडक सुरक्षामाथि प्रश्न

३१ भाद्र २०८३, बुधबार १३:५३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारीसाधनको दुर्घटना दर बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बमले ईभी दुर्घटनालाई गाडीको प्राविधिक पक्षमा मात्रै सीमित गरेर हेर्न नहुने बताए। उनले सडक सुरक्षा प्रणाली, चालकको दक्षता तथा सवारी चालक अनुमति पत्र वितरण प्रक्रियामा समेत सुधार आवश्यक रहेको बताए।

‘ईभी गाडीको दुर्घटना दर निकै बढेको छ। यो समस्या केवल गाडीको मात्र नभई समग्र रोड सेफ्टी सिस्टमको हो,’ उनले भने।

सांसद बमले सवारी चालकमा देखिएको चरम लापरबाही र अनुभवहीनता दुर्घटनाको मुख्य कारणमध्ये एक रहेको बताए। दुर्घटना भएपछि सवारीसाधनलाई मात्रै दोष दिनुभन्दा चालकको सीप, अनुभव र लाइसेन्स प्रणालीको समेत पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिए।

उनका अनुसार ईभीको प्रविधि परम्परागत इन्धनबाट चल्ने सवारीसाधनभन्दा फरक भएकाले चालकलाई यसको सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी दिन आवश्यक छ। ब्याट्री व्यवस्थापन, चार्जिङ प्रक्रिया तथा दुर्घटना भएमा अपनाउनुपर्ने सावधानीबारे चालकलाई जानकारी गराउनुपर्ने उनले बताए।

‘के हामीले नागरिकलाई ईभी किनेपछि त्यसलाई कसरी सुरक्षित र सही तरिकाले प्रयोग गर्ने भन्ने शिक्षा दिएका छौँ ? ईभीको प्रविधि फरक छ, यसको ब्याट्री व्यवस्थापन, चार्जिङ र दुर्घटनामा परेको बेला के गर्ने भन्ने विषयमा चालकलाई जानकारी छैन,’ बमले भने।

उनले सरकारले तत्काल व्यवस्थित ईभी सेफ्टी एजुकेसन कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरे। साथै, सवारीसाधनको प्राविधिक पक्षलाई समेटेर स्पष्ट सेफ्टी गाइडलाइन बनाउन तथा ड्राइभिङ लाइसेन्स तालिममा ईभीसम्बन्धी छुट्टै मोड्युल राख्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी सांसद बमले सडक दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन देशभर ट्रमा सेन्टर विस्तार गर्नुपर्ने बताए।

‘नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने गर्छ। यो सङ्ख्यालाई शून्यमा पुर्‍याउने लक्ष्यका साथ सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*